Techie IT
बुधबार, वैशाख २४,२०८२

‘प्रचण्ड घाइते भएपछि’ सुदुरपश्चिमका माओवादी सांसदहरुसँगको बैठक स्थगित


कैलाली। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका माओवादी सांसदबीच आज हुने भनिएको छलफल स्थगित भएको छ ।

संसदीय दलको विवादका विषयमा छलफल गर्न र समस्या हल गर्न प्रचण्डले आज माओवादीका सबै सांसदहरूलाई खुमलटार बोलाएका थिए ।तर, अचानक अन्तिम समयमा छलफल स्थगित गरिएको प्रचण्डका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘बिहान इन्चार्जसहित बसेर छलफल गरेर फेरी संसदीय दलको विषयमा छलफल गर्ने कुरा भएको थियो तर, अहिलेलाई त्यो संवाद स्थगित भएको छ ’ उनले भने, ‘अर्को बैठकको समय तोकिएको छैन ।’

 

आज बिहान ९ बजे प्रचण्डले सबै सांसदहरूलाई छलफलको लागि बोलाएका थिए । फेरि दिउसो १ बजे बस्ने तयारी गरिएको थियो । आज दुवै छलफल स्थगित भएको हो ।

माओवादी अध्यक्षसँगको छलफल स्थगित भएपछि सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद अझै निरूपण नहुने भएको छ ।

‘हामीलाई सुरुमा ९ बजे आउन भन्ने खबर आएको थियो पछि एक १ बजेको खबर आयो, अहिले तत्काल नबस्नेगरि स्थगित गरिएको छ ’ उनले भने, ‘अर्को बैठकको सूचना आएको छैन। ’

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ । प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखित पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यसविषयमा चासो राखेका छन् ।

अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न कैलाली पुगेका प्रचण्ड विवाद नमिल्दै काठमाडौँ फर्किएका थिए । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान समापनभन्दा भन्दा अघिल्लो दिन कैलाली पुग्दा पनि विवाद मिलेन ।

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५/५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठमाडौं बोलाएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #‘प्रचण्ड घाइते भएपछि’ सुदुरपश्चिमका माओवादी सांसदहरुसँगको बैठक स्थगित, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:17 am6:42 pm +0545