Techie IT
मंगलबार, वैशाख २३,२०८२

‘सुधार’को नाममा यातना, पटक–पटक हुन्छ निर्घात कुटपिटको घटना


रुपेन्द्र पटेल

रौतहट, २३ वैशाख । मधेशमा सुधारको नाममा सञ्चालित सुधार केन्द्रहरू भित्र हुने अमानवीय व्यवहार फेरि एकपटक सार्वजनिक भएको छ । रौतहटको गौर नगरपालिका–४ मा रहेको ‘राइजिङ नेपाल सुधार केन्द्र’ भित्र एक युवकमाथि पाइपले बर्बरतापूर्वक कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना अनुसन्धानको घेरामा आएको छ ।

४१ सेकेन्ड लामो भिडियोमा तीन जनाले एक युवालाई समातेर लडाएका छन् भने एक जना कर्मचारीले प्लास्टिक पाइपले उनको खुट्टामा बारम्बार प्रहार गरिरहेका छन् । युवकको चिच्याउने आवाज दबाउनका लागि पृष्ठभूमिमा ठूलो स्वरमा संगीत बजाइएको समेत देखिन्छ । घटनामा संलग्न देखिएका सिपु पाण्डे सुधार केन्द्रकै कर्मचारी हुन् भने कुटपिटमा परेका युवक रितेशकुमार गुप्ता भएको खुलेको छ । दुवै जना हाल सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रितेश तीन महिना अघि सुधार केन्द्रबाट डिस्चार्ज भएका थिए ।

सुधार केन्द्रका सञ्चालक सुरजकुमार गुप्ताले भने आफूलाई बदनाम गर्न पूर्वकर्मचारीले पुरानो भिडियो भाइरल बनाएको दाबी गरेका छन् । उनका अनुसार, ‘विकास गुप्ता’ नाम गरेका कर्मचारीले झण्डै आठ महिना अघि भिडियो खिचेका थिए । उनीहरू लागूऔषध सेवन गर्दै गरेको पाइएपछि केन्द्रबाट निकालिएको थियो । गुप्ताले भने, ‘अब मलाई फसाउन भिडियो सार्वजनिक गरेका हुन् ।’ गुप्ताले पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएका छन् । साथै, उनले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीलाई औपचारिक निवेदन दिएको दाबी गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार रायले घटना गम्भीर भएकाले प्रहरी टोली सुधार केन्द्रमै पुगेको जानकारी दिए । ‘कुट्ने र कुटाइ खाने दुबै पक्ष सम्पर्कबाहिर छन्’ उनले भने, ‘उनीहरूसँग सम्पर्क गरी विस्तृत जानकारी लिन्छौँ ।’ प्रहरीले सुधार केन्द्रको आन्तरिक सञ्चालन, पूर्वकर्मचारीहरूको भनाई, र बन्दाबन्दी अवधिमा केन्द्रमा भएका व्यवहारहरूको समग्र समीक्षा गर्दै अनुसन्धान अगाडि बढाउने जनाएको छ ।

मधेशमा सुधार केन्द्रका नाममा यातना

मधेशमा सुधार केन्द्रहरू लागुऔषधमा आश्रित, मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका वा व्यवहारगत समस्यामा परेका व्यक्तिहरूको ‘पुनर्स्थापना’को नाममा सञ्चालन हुने गरेका छन् । तर, यस्ता केन्द्रहरूमध्ये धेरैजसोको दर्ता प्रक्रिया अपारदर्शी छ, जनशक्ति अपायक र सेवा अमानवीय हुँदै आएका छन् ।

यसअघि पनि वीरगञ्ज, जनकपुर, सिराहा लगायतका जिल्लामा यस्तै किसिमका अमानवीय घटनाहरू सार्वजनिक भइसकेका छन् । सुधार केन्द्रमा राखिएका युवाहरूलाई कुटपिट, जर्बजस्ती औषधि खुवाउने, बन्दीसरह राख्नेजस्ता गम्भीर गुनासा सार्वजनिक हुँदै आएका छन् ।

संस्थागत सुधारको माग

मानवअधिकारकर्मीहरूले यस्ता केन्द्रमा हुने दुर्व्यवहारको अन्त्य गर्न कडा कानुनी व्यवस्था र नियमित अनुगमनको माग गर्दै आएका छन् । नेपालमा सुधार केन्द्र सञ्चालनको स्पष्ट नीति नहुनु, सरकारी निकायको उदासीनता र पीडित परिवारको बोल्न नसक्ने अवस्था मिलेर यस्ता क्रियाकलाप मौलाउँदै गएको विश्लेषण गरिन्छ । सुधारको नाममा गरिने यस्ता व्यवहारले सुधार होइन, पीडन मात्र दिन्छ । यस घटनाले पुनः सावित गरिदिएको छ । जबसम्म यस्ता केन्द्रहरूमा पारदर्शिता, जिम्मेवारी र जवाफदेहिता नआउँछ, तबसम्म सुधार केन्द्रहरू पीडन केन्द्रमै सीमित रहनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुधार’को नाममा यातना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545