Techie IT
बिहीबार, वैशाख २५,२०८२

‘ड्रोन’ बाट आगलागी नियन्त्रण गर्न ‘तालिम’ र ‘प्रयोगात्मक अभ्यास’


काठमाडौँ । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद

व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो । तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलानी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवालालगायत विषयमा ज्ञान प्रदान गरियो । यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइयो ।

यस क्रममा सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा बालिएको आगो ड्रोनबाट फायर इस्टिङ्ग्विसर बल खसालेर निभाइएको थियो ।

 

घना सहरी बस्तीमा आगलागीलगायत विभिन्न खालका जोखिम बढ्दो क्रममा छ । विपद व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले, बढ्दो चुनौती सामना गर्न प्रविधिको विकास हुनु अवसर भएको र यही अवसरलाई क्षमतामा विकास गर्न लागिएको बताउनुभयो ।

नयाँ सडक, बालाजु र रामहिटीबाट अग्नि नियन्त्रण सेवा 

घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । यसका लागि प्रविधिमा आधारित क्षमता विकास थालिएको हो ।

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दकमल छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुवानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् । केही साधन तथा उपकरण भने मर्मत गरिँदैछ ।

आगलागी हुँदा दमकल जान नसक्ने कतिपय साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिएको छ । कतिपयमा जडान प्रक्रिया चलिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभाग र वडाबाटै पनि काम भइरहेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #‘ड्रोन’ बाट आगलागी नियन्त्रण गर्न 'तालिम' र 'प्रयोगात्मक अभ्यास', #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:17 am6:42 pm +0545