Techie IT
मंगलबार, वैशाख ३०,२०८२

एचपिभीविरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव


काठमाडौं, माघ २२ गते । सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियान दिन लागेको खोपको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको हुँदा ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो ।

उक्त खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।

वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुहुन्छ ।

डा.रिजालका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ, “किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.रिजालको सुझाव छ । यो खोप महिनावारी भएको समयमा पनि लगाउन मिल्ने डा.रिजाल बताउनहुन्छ ।

यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।

सरकारले उक्त अभियानमा विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । उक्त खोप अभियानका लागि सरकारले विद्यालयमा खोप केन्द्र तोकेको छ ।

एचपिभी भाइरस बस्तो भाइरस हो ?

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा  १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।

सरकारले अभियानमा लगाउन लागेको एचपिभीविरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ ।

पाँच लाख पाठेघरको मुखको क्यान्सर

पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो । मृत्युको भने पहिलो कारण हो ।

पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ ।

विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एचपिभीविरुद्धको खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:14 am6:45 pm +0545