Techie IT
बिहीबार, जेठ २,२०८२

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेटिनुपर्छः महामन्त्री थापा


काठमाडौं, माघ ७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताउनुभयो ।

महामन्त्री थापाले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताउनुभयो । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाए पनि मुल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मुल कानुन हुने जानकारी दिनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाए पनि यसको मुल कानुन हामीले अहिलेसम्म बनाएनौँ । जसका कारणले गर्दा नेपालको एग्रिकल्चरको डिरेक्शन कुन हुने भन्ने सन्दर्भमा जुन गति समात्नुपर्ने थियो, जुन लय हामीले समात्नुपर्ने थियो, त्यो ठाउँमा हाम्रा केही ग्यापहरु छन् ।’’

कृषिको मुल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताउनुभयो । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रुपमा हेरिनुपर्ने बताउनुभयो ।

‘‘कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि एउटा महत्त्वपूर्ण दस्तबेज बन्नसक्छ । खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मुल आधार बन्छ की बन्दैन भन्नेकुरा यो कानुनले टुङ्ग्याउँछ । यो पटक सरकारले ल्याउने जुन कानुन छ, त्यो कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको एग्रिकल्चरको मुल विषय हो भन्नेकुरा पार्न सक्नुपर्छ ।’’

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेटिनुपर्छः महामन्त्री थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am6:46 pm +0545