पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि
काठमाडौँ, साउन २१ गते । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।
महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. घिमिरेले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । डा. घिमिरेले भन्नुभयो, “हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ । त्यसका लागि खानेपानी तथा ढल निकास व्यवस्था विभाग, पानी उद्योगी, खानेपानी उपभोक्ता समिति, सरसफाइसम्बन्धी काम गर्ने सङ्घ संस्थाको दायित्व र भूमिका महत्त्वपूर्ण हुन्छ ।”
उहाँले गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन सुझाव दिनुभयो । डा. घिमिरेका अनुसार हैजा फैलिएको स्थानमा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्यकर्मीको टोली गएर ती स्थानलाई निगरानीमा राखी कुन माध्यमबाट हैजा फैलिएको हो भन्ने अनुसन्धान गरिरहेको छ ।
उहाँले खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।
इपिडिमियोलोजी महामारी शाखा प्रमुख
डा. मुकेश पौडेलले हैजा महामारीजन्य रोग भएकाले अरूलाई नसार्न बिरामीले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले हैजाका बिरामीलाई हेरचाह गर्ने व्यक्तिले थप सतर्कता अपनाउनुपर्ने बताउनुभयो । हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जस्ता जनचेतना जनस्तरमा पुग्नुपर्ने उहाँको भनाइ छ । भिब्रियो कोलेरा नामक कीटाणुले गर्दा हैजाको सङ्क्रमण हुने र यो दिसाको माध्यमबाट सर्ने भएकाले बाढी मिसिएको पानी प्रयोग नगर्न सुझाव दिनुभयो ।
काठमाडौँ उपत्यकामा खानेपानीको स्रोतमा ढलको पानी मिसिएर हैजाको प्रकोप फैलिएको छ । डा. पौडेलले हैजा लागेको व्यक्तिले प्रयोग गर्ने धारा प्रयोग गरेमा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानी प्रयोग गरेमा, हैजा भएको व्यक्तिको संसर्गमा रहेमा हैजा फैलने बताउनुभयो । उहाँले हैजा दूषित पानीका माध्यमबाट सर्ने भन्दै बासी खानेकुरा, नपकाएको खानेकुरा खाँदा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्ने बताउनुभयो । हैजा हुँदा पानीजस्तो पातलो दिसा आउने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्