डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं, असार ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।
मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा. बुढाथोकीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उहाँको सुझाव छ ।
उहाँले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गर्नुभयो । डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ।
उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन् । एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उहाँको सुझाव छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्