Techie IT
बुधबार, जेठ १,२०८२

कोशीमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन


विराटनगर, ४ भदौ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको आकस्मिक बैठक बसेको छ ।

मुख्यमन्त्री उद्धव थापाले दिउँसो १ बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कठिन भएपछि आवश्यक निर्णय गर्न बैठक बसेको बताइएको छ । बैठक विराटनगरको एक होटलमा बसिरहेको छ ।

कोशीकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको कारण प्रदेश सभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि गठबन्धनको बैठक बसेको हो । उपसभामुख दनुवार बिहानै काठमाडौं प्रस्थान गरेको बताइएको छ ।

प्रदेश सभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ ।

बैठक सञ्चालनका लागि मनोनयन गरेका चार जना प्रदेश सभा सदस्यमध्ये नेकपा (एमाले)की मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले आजको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

समितिमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिना र नेपाली कांग्रेसकी इस्राइल मन्सुर रहेका छन् । आज उपसभामुख उपस्थित भएमा गठबन्धनकी गीता र इस्राइल मध्ये एकजनाले प्रदेश सभा बैठक सञ्चालन गर्नेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग अहिले बहुमत अर्थात ४७ मत छ तर प्रमुख प्रतिपक्ष दल अनुपस्थित भएर बैठकको अध्यक्षता पनि सत्ता पक्षले नै गर्नुपरेको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन कठिन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोशीमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545