Techie IT
सोमबार, वैशाख २२,२०८२

नक्कली नोटसहित बुटवलबाट दुई जना पक्राउ


रुपन्देही । बुटवलबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका ११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका ९ बस्ने साहिल थापा मगर रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १ हजार दरको ४४ थान नक्कली नेपाली नोट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो सोमबार साँझ सैनामैना नगरपालिका १ रानिबगियामा लु.१४.प २०९० नम्बरको मोटरसाइकल र लु.९२.प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको विषयमा ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा रहेका मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट बरामद भएको हो ।

बरामद गरिएको नक्कली नोट सहित पक्राउ परेकाहरूलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुउपर खोटा मुद्रा कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?

बजारमा नक्कली नोट भेटिएको चर्चा हुन थालेको छ । ठाउँठाउँमा नक्कली नोट भेटिन थालेका छन् । तर कसरी चिन्ने नक्कली नोट ? सक्कली नोटमा केही विशेषता छन् । जसका कारण सजिलै नोट सक्कली-नक्कली छुट्याउन सकिन्छ ।

पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्ने हो भने लालीगुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ। नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ।

सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिंदैन। धागो फोटोकपी गर्दा आउँदैन। फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोपिएको जस्तो देखिन्छ। सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा अंग्रेजी अक्षरमा एनआरबी लेखिएको हुन्छ।

छोएर हेर्नेः नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ। नोट पुरानो हुँदै जाँदा भने यस्तो विशेषता कम हुँदै जाने हुन्छ।

आवाज : नेपाली नोट शतप्रतिशत कपासबाट बन्ने कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ। नोट पुरानो हुँदै जाँदा यो विशेषतामा पनि ह्रास आउने गर्दछ।

बुट्टा : रुपैयाँ १००,५००,१००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर अंग्रेजीको एनआरबी भन्ने शब्द बन्छ। नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ।

कानुनमा के छ ?
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।

सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारोबारीहरुलाई कारवाही अगाडी बढाउँदै आएको छ । जानकारहरु भन्छन् – नक्कली नोटको कारोबार नियन्त्रणका लागी कानूनको निर्मम कार्यान्वयन मात्र नभई सचेतना पनि बढाउनुपर्छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545