Techie IT
आईतबार, जेठ १०,२०८३

काँग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन के-के भयो ? (भिडिओसहित)


काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मंगलबारदेखि सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकको पहिलो दिन महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो क्रममा थापाले यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गर्ने प्रस्ताव गरेका छन् । एक वर्षको अवधिमा कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ अभियान गरिने उनले बताए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यस्तै बैठकमा प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा जानकारी गराउदै प्रमुख सचेतक रमेश लेखकले राजनीतिक रूपले गठबन्धन परिवर्तन भएका कारण प्रमुख प्रतिपक्ष आक्रामक रहेको र रास्वपा तथा राप्रपा अपरिपक्व देखिएको टिप्पणी गरे ।

त्यस्तै सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै कांग्रेसले सरकारमा बसेर कुनै गल्ती कमजोरी नगरेको बताए । खड्काले जनताको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको जिकिर गरे । केन्द्रीय समिति बैठकलाई कांग्रेसले प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।

बैठकलाई प्रविधियुक्त बनाइएको कांग्रेस नेता मीन विश्वकर्माले बताए । उनले कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे पुन: बस्ने र एजेण्डाहरुका बारेमा थप छलफल हुने जनकारी दिए ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । जसमा पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन लगायत छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस केन्द्रीय समिति बैठक


तपाईको कमेन्ट लेख्नुहोस्