Techie IT
बिहीबार, जेठ २,२०८२

यस्तो हुनेछ काठमाडौंमा अनिवार्य गरिएको घर बहाल सम्झौतापत्र (ढाँचासहित)


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र घरजग्गा, भवन वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनिवार्य घरबहाल सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाले हालै ‘घर बहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गर्दै घरभाडा व्यवसायलाई कडाई गर्न लागेको हो ।

घरजग्गा बहालमा लिने/दिने कार्यलाई व्यवस्थित, पारदर्शी र कानुनबमोजिम गराउन घर बहालमा लिने–दिनेबीचको सम्बन्धलाई व्यवस्थित बनाउने, बहालमा लिए–दिएको विषयमा उत्पन्‍न हुनसक्ने सम्भावित विवादको निरूपणलाई छिटो–छरितो र न्यायोचित ढङ्गले समाधान गर्ने र महानगरको बहाल कर असुली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन नयाँ निर्देशिका बनाई लागू गरेको महानगरपालिका कार्यालयले जनाएको छ ।

आज हामीले घरभाडा दिने तथा लिनेले कस्तो सम्झौता गर्नुपर्ने हुन्छ भनेर ‘घर बहाल सम्झौताको ढाँचा’ प्रस्तुत गर्दै छौं ।

अनुसूची– १
दफा ३ (३) बमोजिम

………………………… र …………………………………को बिचमा घर बहालमा लिने/दिने सम्बन्धमा गरिएको
                                                                                              

सम्झौता–पत्र
……….को नाती ……को छोरा ……….बस्ने वर्ष … को नागरिकता प्रमाण–पत्र नम्वर …..भएको श्री………….. (यसपछि पहिलो पक्ष भनिने) र….को नाती ……को छोरा……बस्ने वर्ष……..को नागरिकता प्रमाण–पत्र नम्वर …..भएको श्री ……………….(यस पछि दोस्रो पक्ष भनिने) का बिचमा काठमाडौँ महानगरपालिका वडा नं….मा रहेको… नम्बरको पहिलो पक्षको स्वामित्वको भवन/जग्गा देहायको सर्त, बन्देज तथा दायित्व बहन गर्ने गरी बहालमा लिन-दिन दुवै पक्ष मन्जुर भई यो घर बहालको सम्झौता गरी एक एक प्रति लियौँ/दियौँ ।

देहाय,

१. पहिलो पक्षको हक तथा स्वामित्वमा रहेको काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर….मा अवस्थित कित्ता नम्बर….मा बनेको घर बहालमा दिने र दोस्रो पक्षले बहालमा लिने उद्देश्यले यो सम्झौता गरिएको छ ।

२. प्रकरण नम्बर १ मा उल्लिखित घर बहालमा लिने/दिनेको विवरण यस प्रकारको हुने छ :

घर रहेको टोल : ………………घरमा आवत जावत गर्न प्रयोग हुने मार्गको नाम :……………….घर बहालको प्रयोजन :……………… (लिज वा सबलिजमा दिने हो भने सो बेहोरा खुलाउने) घरको तला :…………………. बहालमा दिने घरको चार किल्ला :………….बहालको कुल क्षेत्रफल : ……………………………………………… कोठा सङ्ख्या : …………………..बमोजिमको हुने छ ।

३. बहालमा लिने/दिने क्षेत्रफल जम्मा …………तला……. भएकोले सोको जम्मा रु. ………………..घर बहाल रकम तोकिएको छ । दोस्रो पक्षले पहिलो पक्षलाई प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको बहाल रकम बुझाउनुपर्नेछ । बहाल रकम नगदै वा पहिलो पक्षले तोकेको बैङ्क खातामा जम्मा गरिदिनुपर्ने छ । नगदै बुझेमा पहिलो पक्षले बहाल बुझि लिएको भर्पाई गरिदिनुपर्नेछ भने बैङ्क खातामा जम्मा गरेमा सोको भौचरको एकप्रति पहिलो पक्षलाई दोस्रो पक्षले उपलब्ध गराउनुपर्नेछ ।

४. यस सम्झौताको प्रकरण नम्बर ३ बमोजिम दोस्रो पक्षले पहिलो पक्षलाई तिर्नु बुझाउनुपर्ने रकम सोही प्रकरणमा उल्लिखित समयसिमाभित्र बुझाउनुपर्ने छ । म्यादभित्र बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्काे महिनाको मसान्तभित्र तिर्न/बुझाउन सक्ने छ । तीन महिनाभित्र समेत घर बहाल रकम नतिरे नबुझाए पहिलो पक्षले यो सम्झौता स्वतः भङ्ग भएको मानी घर खाली गराउने प्रक्रिया अघि बढाउन सक्ने छ ।

५. यो सम्झौता विपरीत कार्य गरेमा पहिलो पक्षले बहालबाट हट्न लिखित निर्देशन दिन सक्ने छ । यस्तो निर्देशन प्राप्त भएपछि दोस्रो पक्षले बहालबाट हट्नुपर्ने छ । दोस्रो पक्षले बहालमा लिएको घर छोड्नुपर्ने भएमा ३५ दिनको पूर्व लिखित सूचना पहिलो पक्षलाई दिई घर बहालको सम्झौता अन्त गर्न सक्ने छ । जुन पक्षबाट सम्झौता भङ्ग गर्ने प्रक्रिया प्रारम्भ गरेको भए पनि सो सम्बद्ध कागजातसहित वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्नेछ ।

६. काठमाडौँ महानगरपालिकालाई तिर्नु बुझाउनुपर्ने बहाल कर पहिलो पक्षको नामबाट दोस्रो पक्षले बुझाई सो रकम बहाल रकमबाट कट्टा गरी कर तिरेको कागजसहित पहिलो पक्षलाई बहाल रकम भुक्तानी गर्नुपर्नेछ ।

७. घर बहाल रकम प्रत्येक दुई दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।

८. व्यवसाय कर, पानी, बिजुली, टेलिफोन तथा फोहरमैला व्यवस्थापन वापत तिर्नु/बुझाउनुपर्ने कर दस्तुरको दायित्व दोस्रो पक्षको हुने छ ।

९. यो सम्झौताको अवधि ……वर्षको हुने छ । दुबै पक्षको सहमतिमा सम्झौताको म्याद थप गर्न सकिने छ ।

१०. दोस्रो पक्षको कारण बहालमा लिँदाको भवनको अवस्थामा कुनै टुटफुट भएमा, भत्केमा वा मर्मत–सम्भार गर्नुपर्ने भएमा मर्मत–सम्भार गर्ने र पूर्ववत्वा चालु अवस्थामा राख्नु दोस्रो पक्षको दायित्व हुने छ । बहाल सम्झौता समाप्त भएपश्चात् घर पूर्ववत अवस्थामा फिर्ता गर्नुपर्नेछ ।

११. यो सम्झौता मिति…………….बाट लागु हुने छ । सम्झौताको यथार्थ परिपालना गर्नु÷गराउनु दुवै पक्षको कर्तव्य हुने छ । सम्झौता कार्यान्वयनको क्रममा कुनै विवाद भएमा आपसी छलफल तथा सहमतिबाट विवादको निरूपण गरिने छ । सहमतिबाट विवाद समाधान हुन नसकेमा प्रचलित कानुनबमोजिम सम्बद्ध वडा कार्यालयमा उजुरी पेस गर्न सकिने छ ।

१२. बहालमा लिने घरको बिमा पहिलो पक्षले गर्नुपर्ने छ (दोस्रो पक्षले बिमा गर्ने हो भने प्रिमियमबापतको रकम बहाल रकमबाट कट्टा गरी पहिलो पक्षलाई बहाल रकम बुझाउन सकिने छ) ।

१३. यस सम्झौतामा उल्लेख नभएका सर्त, बन्देज अन्य दायित्व काठमाडौँ महानगरपालिकाको बहाल व्यवस्था कार्यविधि, २०७९ बमोजिम हुने छ ।

पहिलोपक्षको तर्फबाट                                                                                                                                                                                                                                                                         दोस्रो पक्षको तर्फबाट 
नाम : …………………….                                                                                                                                                                                                                                                           नाम : …………………………..
दस्तखत : ………………..                                                                                                                                                                                                                                                          दस्तखत : ……………………..
मिति : ……………………                                                                                                                                                                                                                                                           मिति : …………………………

साक्षीहरू
१. ……………………………………………………..
२…………………………………………………………
               

                     इति संवत् २०….. साल …… महिना …… गते रोज……शुभम् 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंमा अनिवार्य गरिएको घर बहाल सम्झौतापत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545