खोटाङका सबै मतदान स्थल पुग्यो निर्वाचन सामग्री
खोटाङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदान स्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ ।
मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो ।
निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदान स्थल पुर्याएका छन् ।
दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदान स्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो ।
मतदान स्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदान स्थल निर्माण गर्ने जनाइएको छ ।
आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मत गणना स्थल तयारीको काम सुरु गरिने जनाइएको छ ।
आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार चार सय ७४ मतदाता थिए । जिल्लामा एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाको लागि निर्वाचन हुँदै छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्