Techie IT
बुधबार, साउन ९,२०८१

मलाई र एमालेलाई मतदान गर्ने कसैले पछुताउनु पर्दैन – तेजप्रसाद ढकाल


काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ४ (१) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभाको उम्मेदवार बनेका तेजप्रसाद ढकालले जनताले दिएको विश्वास नै आफूले निर्वाचन जित्ने आधार भएको बताएका छन् ।
जनताको घरदैलो गर्ने क्रममा जहाँ पुगे पनि आफूप्रति मानिसहरु सकारात्मक भएको भन्दै उनले थपे ‘म लामो समयदेखि यो क्षेत्रमा बसेर नै काम गर्दै आएको छु त्यसैले पनि म कसैको लागि नयाँ र नौलो मान्छे होइन ।’ सरल स्वभावका धनी उनी स्पष्ट बोल्ने वक्ताका रुपमा चिनिन्छन् । आफूले अघि बढाएका योजना समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका उनले भने ‘मैले अहिलेसम्म कसैलाई पनि ढाँटेको र झुक्याएको छैन, जनता भगवान भएकाले उहाँहरुको आशिष चाहिएको छ मलाई, तपाइहरुमाथि विश्वासघात गर्ने छैन’ उनले भने ‘यो क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छु त्यसैले पनि मेरो जित हुनुपर्ने खाँचो छ ।’
ढकाल लामो समयदेखि राजनीति गर्दै आएका छन् । २०३९ सालदेखि अनेरास्ववियुको राजनीतिमा संलग्न भएका उनी अहिले काठमाडौं जिल्ला कमिटीका सह–सचिव हुन् । बी.ए. एल्. एल्.बी.सम्मको अध्ययन गरेका उनी कानुन व्यवसायीसमेत हुन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको दुई कार्यकालसम्म अध्यक्ष भएका उनका ‘मेरो देश’ (कवितासंग्रह), राजनीतिक विचार समेटिएको ‘प्रजातन्त्रमा जनप्रतिनिधि र प्रतिपक्ष’ पनि प्रकाशित छन् । ‘भाव’ लेख संग्रह उनको अर्को रचना हो । भारत, बंगलादेश, थाइल्याण्ड, जापान, जर्मन, स्विटजरल्याण्ड, अमेरिका, बेलायतलगायतको देशको भ्रमण गरिसकेका उनी यो क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा पर्छन् । ढकालले यी क्षेत्रमा एमालेको संगठन राम्रो भएको दाबी गरेका छन् ।
उनको क्षेत्रमा पशुपतिनाथको मन्दिर पनि परेको छ । पशुपतिनाथको मन्दिर, नक्साल भगवती, कमलपोखरी, धोबीधारालगायतका क्षेत्रलाई थप चिनाउन पहल गर्ने र व्यवस्थित बनाउने उनको योजना छ । ‘मठ, मन्दिर र सांस्कृतिक सम्पदाको संरक्षण गरेर प्रयाप्त मात्रामा प्रचार प्रचार गर्न सक्यौं भनें पनि पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सकिन्छ’ उनी भन्छन् ‘ यो निर्वाचनले देशको भाग्य र भविष्य कस्तो बनाउने भन्ने निर्धारण गर्ने भएकाले नेकपा एमालेको योजना र घोषणापत्रलाई सम्झिँदै मतदान गर्न आग्रह गर्दछु ।’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:23 am6:57 pm +0545