Techie IT
बुधबार, वैशाख २४,२०८२

पानी र बिजुली निःशुल्क उपलब्ध गराउने एमालेको प्रतिबद्धता


काठमाडौं । नेकपा एमालेले निर्वाचन जितेर सरकार बनाएपछि जनतालाई पानी र बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

एमालेले आज मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘फ्रि मिटर : दश हजार लिटर’ र ‘फ्रि युनिट : ५० युनिट’ योजना अगाडि सारेको हो ।

‘फ्रि मिटर : दश हजार लिटर’अन्तर्गत आगामी दुई वर्षभित्र सबै परिवारमा आधारभूत पिउने पानीको सुविधा पुर्याउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने र फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने ग्यारेन्टीसहितको प्रतिबद्धता एमालेले जनाएको छ ।

त्यस्तै, ‘फ्रि युनिट : ५० युनिट’ योजनाअन्तर्गत दुई वर्षमा विद्युत्मा सबैको पहुँच पुर्याउने, सबै परिवारलाई वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै, पाँच वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५०० मेगावाट पुर्याउने तथा प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याउने ग्यारेन्टी र प्रतिबद्धता पनि एमालेको घोषणापत्रमा गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ‘पाँच वर्ष : एमालेले गर्छ !’ शीर्षक दिएर तयार पारेको घोषणापत्र एमालेले आज मंगलबार सार्वजनिक गरेको हो । घोषणापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, रोजगारी र आयस्तरलाई केन्द्रमा राखेर २० वटा ग्यारेन्टी पनि गरेको छ ।

सोही ग्यारेन्टीमध्ये बिजुली र खानेपानी निःशुल्क उपलब्ध गराउने योजना एमालेले अगाडि सारेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #पानी र बिजुली निःशुल्क उपलब्ध गराउने एमालेको प्रतिबद्धता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:18 am6:42 pm +0545