निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध : गोकर्णमणि दुवाडी
काठमाडौँ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवं सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बागमती प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज चितवनमा उद्घाटन गर्नुहुँदै सचिव दुवाडीले आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारी, आचारसंहिताको कार्यान्वयनलगायत आयोग र सञ्चारमाध्यमको भूमिका र अपेक्षामाथि छलफल हुने बताउनुभयो ।
निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो ।
आचारसंहिता पालना गर्ने र गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सचिव दुवाडीले “सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो” भन्नुभयो । आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिएमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह समेत गर्नुभयो ।
स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताउनुभयो ।
निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउँदै उहाँले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको बताउनुभयो ।
उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिका लगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ—बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो ।
मतदानको दिन सूचना तथा प्रसारण विभागबाट जारी गरिएको प्रेस पासका आधारमा रिर्पोटिङका लागि अनुमति दिइने बताउँदै उहाँले प्रेस पास नहुनेहरूका लागि पनि आयोगले सहजीकरण गर्ने बताउनुभयो ।
सचिव दुवाडीले प्रेसलाई सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । उहाँले निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापन तीव्र गतिमा भइरहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्ला स्तर र स्थानीय स्तरका संयन्त्रलाई सक्रिय तुल्याउन आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्