हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।
उहाँले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेर खान मात्र अनुरोध गर्नुभएको छ । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।
झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसा पिसाब गर्ने, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।
पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण झाडापखालाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ ।
झाडापखाला घरमा उपचार गर्न सकिन्छ
यस्तै झाडापखालाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ । यदि झाडापखाला भएमा झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुरा पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक–पटक खुवाइरहने गर्नुपर्दछ ।
यस्तो बेलामा स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्दछ ।
काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताउनुभयो । उहाँले ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जीवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्मसमेत रहेको बताउनुभयो । हैजाको प्रकोप बढ्न थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले बताउनुभयो ।
खानेपानीको अनुगमन
यस्तै काठमाडौँ जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । कार्यालयका प्रमुख अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन गर्ने भएको छ ।
यस्तै काठमाडौँ महानगरपालिकाबाट हैजा नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रम गर्न विद्यालय र वडा कार्यालयलाई पत्राचार गरिने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरित पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमुना सङ्कलन तथा परीक्षण गर्ने निर्णय भएको छ । रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, #हैजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्