Techie IT
शुक्रबार, जेठ १०,२०८२

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने


रुपन्देही । लुम्बिनीमा आगामी नोभेम्बर र डिसेम्बरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

लुम्बिनी विकास कोषको बैठकले आगामी नोभेम्बर र डिसेम्बरमा बौद्ध सम्मेलन गर्ने र त्यसको तयारी गर्ने निर्णय गरेको हो ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले बैठकबाट बौद्ध सम्मेलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले कोषले निर्णय मात्र गरेकोले कुन मितिमा र कसरी आयोजना गर्ने भन्ने विषयमा छलफल बाँकी रहेको बताउनुभयो । अहिले प्रस्ताव गरिएको र परिस्थिति अनुकूल भए मात्रै बौद्ध सम्मेलन आयोजना गर्न सकिने उहाँले बताउनुभयो ।

कोषका अध्यक्ष तथा पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले २५ सय ६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भ्रमण कार्यक्रमको समीक्षा गरेको छ ।

बैठकले सुरक्षा संवेदनशीलता र निर्वाचनको व्यस्तताले निमन्त्रणा कार्ड व्यवस्थापनमा भएका कमजोरीलाई आगामी दिनमा शिक्षाको रुपमा लिँदै हटाउँदै जाने निर्णय समेत गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले जानकारी दिनुभयो ।

सोही बैठकले कोभिड सङ्क्रमणका बेलामा मायादेवी मन्दिर बन्द रहेको र उक्त समयमा सेन्ट्रल क्यानलमा डुङ्गा चलाउने, माला पसल चलाउने र पार्किङ ठेक्कामा लिएका व्यवसायीसँग कोषले लिनुपर्ने रकम दायित्व छुट गर्ने निर्णय गरेको छ । साथै लुम्बिनी र लुम्बिनीसँग सम्बन्धित क्षेत्रहरूको उत्खननलाई नियमित र व्यवस्थित गर्ने समेत निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Clear
5:09 am6:51 pm +0545