लाइसेन्सका लागि परीक्षा सुरु हुँदै

कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।
विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।
विभागका सूचना अधिकारी लोकनाथ भुसालले आवेदन दिएकाहरूले अबको “१० देखि १५ दिनमा” परीक्षा दिन पाउने जानकारी दिएका छन्।
“पछिल्लो परिस्थिति हेर्दा हामी ‘न्यू नर्मल’मा बाँच्नुपर्ने स्थिति आयो। त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहिवार पत्राचार गरेका छौँ,” उनले भने।
“छ लाख पुरानै ‘ब्याक लग’ छ। अब अहिले खोल्यो भने फेरि अर्को छ लाखजति आवेदन आउँछ,” उनले भने। नेपालमा १६ वर्षभन्दा माथिका नागरिकले सवारी लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था छ।
देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ। झन्डै छ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्।
उक्त सङ्ख्याको आधाजसोले परीक्षा दिइसकेपछि नयाँ आवेदन खुलाउन सकिने भुसालको भनाइ छ। “मान्छेलाई लाइनमा राखेर, क्यूमा उभ्याएर मात्रै पनि हुँदैन,” उनले भने। ”सामान्य अवस्थामा आउन हामीलाई एक डेढ वर्ष जति लाग्छ।”
नेपालमा विदेश जाने विद्यार्थीहरूले लाइसेन्सका लागि आवेदन दिने गरेका छन्। त्यस किसिमका आवश्यकता भएकाहरूका लागि छुट्टै निर्णय गरेर व्यवस्था मिलाउने सैद्धान्तिक व्यवस्था रहेको सरकारी भनाइ छ।
लामो समयदेखि प्रतीक्षारत सर्वसाधारणहरूले परीक्षा दिन पाए पनि तत्काल स्मार्ट लाइसेन्स प्राप्त गरिहाल्ने अवस्था भने देखिँदैन।
विभागले लगभग सात लाख सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसकिएको जनाएको छ। कागजमा छापिएको अनुमतिपत्रबाट स्मार्ट लाइसेन्समा जाँदा धेरै प्राविधिक कारण मागअनुसार कार्ड उपलब्ध गराउन नसकेको भुसालले जानकारी दिए।
अहिले सरकारले १४ लाखवटा स्मार्ट कार्ड प्राप्त गर्नेगरी फ्रान्सको एक कम्पनीले टेन्डर दिइएको र त्यो अबको एकदेखि डेढ महिनामा कार्यान्वयनमा आउने बताइएको छ।
“अर्को छदेखि सात महिनामा मात्रै सबै सेवाग्राहीलाई स्मार्ट कार्ड उपलब्ध गराउन सकिने अवस्था छ,” उनले भने।
विभागसँग मौज्दात रहेको स्मार्ट कार्ड सङ्ख्याबारे भुसाल भन्छन्, “अहिले त हामीसँग दुई-चार हजार होला। त्यो चाहिँ विदेश जानेहरू वा अत्यावश्यक भएकाहरूलाई, भिसा, टिकट र राहदानी लिएर आउनेहरूलाई प्राथमिकताका आधारमा छापिदिन्छौँ। त्योभन्दा अरूले पाउनुहुँदैन।”
विभागले सार्वजनिक गरेको मापदण्डमा विभिन्न सर्तहरू पालना गर्नुपर्ने छ। त्यसमा परीक्षार्थीहरूले पालना गर्नुपर्ने व्यवस्थाहरू समेत उल्लेख छ।
कार्यकालको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक शिफ्टमा बढीमा १०० जना परीक्षार्थीको परीक्षा गराउने सकिने व्यवस्था गरिएको छ। त्यस्तै एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी राख्न पाइनेछ।
परीक्षा कोठा ठूलो भए स्वास्थ्य मापदण्ड पालन गर्ने गरी त्यो सङ्ख्या बढाउन पाइने बताइएको छ। ट्रायलको हकमा परीक्षाको दिन, शिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टाअघि उपलब्ध गराइने र तोकिएको समयमा उपस्थित हुन नसक्नेलाई अनुपस्थित मानेर अघि बढिने उल्लेख छ। ट्रायलमा एक पटकमा बढीमा ५० जना सहभागी हुन पाउने मापदण्डमा उल्लेख छ।
लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ। सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने र त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ।
उनका अनुसार लिखित परीक्षा पूरा भएर ट्रायल बाँकी भएका आवेदकले पुरानै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नयाँ प्रणालीबाट छुट्टै लिखित र ट्रायल परीक्षा हुने उनको भनाइ थियो।
सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो।
त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो। नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ।
प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको पनि सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिइएको अधिकारीहरू बताउँछन्। उक्त परीक्षामा १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका कारण सानो गल्तीका कारण अनुत्तीर्ण हुने अवस्थाको अन्त्य हुने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।
नयाँ प्रावधानअन्तर्गत प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ। त्यस्तै सङ्केत चिह्न छोएमा, खुट्टाले भुइँमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरकफरक अङ्क घट्ने व्यवस्था गरिएको छ।
अहिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने दर ३० देखि ३५ प्रतिशत रहेकामा नयाँ व्यवस्था लागु भएपछि बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने अपेक्षा विभागको छ। ठूला सवारी चलाउने अनुमतिपत्र लिँदा भने अहिलेकै व्यवस्था कायम रहने अधिकारीहरूको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : ##लाइसेन्स, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्