Techie IT
शनिबार, जेठ ४,२०८२

एमालेमा यक्ष प्रश्न : पार्टी मिलाउने कि शून्यमा बिलाउने ?


निर्मल भट्टराई

एकदिन एकजना ऋषि जङ्गलमा विचरण गर्दै थिए । उनले एउटा अजङ्‌गको सर्प गुँडुल्किएको देखे ।

गुँडुल्किएको सर्पले अफ्नो पुच्छर मुखमा हालेको थियो । ऋषिले सोचे यदि त्यो सर्पले त्यसरी नै आफैंलाई खाँदै गए त केही पनि बाँकी रहँदैन । त्यही सर्पको अवस्थाले शून्य अङ्‌कको आविस्कार भयो भनिन्छ । आज पार्टी अध्यक्षसँग मिल्नै नसक्ने र एमालेमा बस्नै नसक्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ‘बरिष्ठ नेता’ माधव नेपाल नेपालको राजनीतिमा यस्तै एक अनौठो पात्रको रूपमा देखा परेका छन् ।

कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)को लामो समयसम्म नेतृत्व गरेका माधव नेपाल पदको नाजायज भोकका कारण आज आफैं न घरको न घाटको स्थितिमा पुगेका छन् । आफ्नो अतृप्त कुण्ठा मेटाउँन आफ्नै पार्टीलाई भत्काउने गलत सोच लिएर अगाडि बढेका छन् । धेरै विगतको उनको विचारमा देखापरेको खोटको त यहाँ बयान गरेर साध्य छैन, गत आमनिर्वाचनमा बनेको बाम गठबन्धनयता उनमा देखा परेको वैचारिक खोटसमेत एक डोको भइसकेको छ ।

निर्मल भट्टराई

अघिल्लो आम निर्वाचनमा बाम गठबन्धनले भव्य सफलता प्राप्त गरेपछि त्यही उत्साहमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न तयार भए । बन्दुकको बलमा सत्ता कब्जा गर्ने सार बोकेको माओवादी विचार बोकेको माओवादी केन्द्र र शान्तिपूर्वक बाटोबाट चुनावमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने जनताको बहुदलीय जनवादी सिद्धान्त अङ्‌गीकार गरेको एमालेबीच प्रष्ट वैचारिक मार्गचित्र तयारै नगरी कठात् एकता गरियो ।

एकतापछि बनेको नेकपामा पार्टीलाई वैचारिक र साङ्गठानिक रूपमा मजबुत बनाउन भूमिका खेल्नु पर्नेमा माधव नेपाल प्रचण्डसँग गोप्य साँठगाँठ गरी ओलीलाई पार्टी र सरकारबाटै हात धुन वाध्य पार्ने अभियानमा लागे । पार्टीभित्र र संसद्‌भित्र टाउको गन्न खप्पिस माधव नेपाल तुरुन्त पार्टीसत्ता वा राज्यसत्ता कब्जा गर्ने योजनामा लागे । सधैं अस्थिरतामा खेल्न मन पराउने प्रवण्ड र पदको लागि जे पनि गर्न पछि नपर्ने माधव नेपालबीच राष्ट्रपति विद्या भण्डारीसमेतलाई गलहत्याउने योजना बन्यो ।

राष्ट्रपति पदका व्यग्र आकाङ्क्षी झलनाथ खनाल त्यतै लपेटिए । यो उनीहरूको विचारमा आएको स्खलन थियो, खोट थियो । पार्टी एकताले पूर्णता नपाउँदै, वैचारिक-साङ्गठानिक सवालको निरूपण नहुँदै माधवले ओलीभन्दा प्रचण्डलाई नजिक देख्नु नै नेकपा र हालको एमालेको समस्याको प्रमुख कारण हो ।

सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षतामा बसेको विधानसम्मत बैठकलाई माधव नेपाल ‘गुटको बैठक’ भन्छन् । आफूले नेतृत्व गरेको कोटरीको कानेखुसीलाई ‘एमालेको बैठक’ भन्छन् । अनि एमालेको बरिष्ठ नेताकै हैसियतमा कथित अग्रगमनकारी एमालेविरोधी गठबन्धनमा सहभागी हुन्छन् । तलतलसम्म त्यसै गर्न आफ्ना कार्यकर्तालाई उकास्छन् । आफैं कार्यदल बनाएर त्यसले सुझाएको समाधान मान्न राजी हुने अनि बडो मेहनतसाथ कार्यदलले समस्या समाधान प्रतिवेदन तयार पारेपछि ‘म मान्दिन’, मलाई बराबरी हैसियतको अध्यक्ष चाहिन्छ भन्ने नयाँ माग अघि सारेर आफूलाई विभाजनकै कित्तामा उभ्याएका छन् ।

जतिबेला माधव नेपाल प्रचण्डसँगको मिलिभगतमा साविक नेकपाबाट ओलीलाई गलहत्याउने हर्कत गर्दै थिए, त्यतिबेला आफूले वर्षौंवर्ष अङ्गालेको जनताको बहुदलीय जनवादलाई समेत प्रतिगमनकारी विचार भन्न भ्याए । जबजका नामी दुस्मन प्रचण्डको भाषा सापटी लिएर जबजको उछित्तो काढे । तर एमाले ब्युँझियो, फेरि जननेता मदन भण्डारीको फोटो मुनि उभिएर ‘हामी एमालेको विचार जबज हो, त्यसको सच्चा अनुयायी ओली होइनन् म हुँ’ पो भन्न थाले ।

अहिले एमालेमा देखिएको समस्या विचारको समस्या होइन । पदको समस्या हो । हुन त राजनीति गर्ने मानिसको जीवनमा पदको हिसाबकिताब भइरहन्छ, अर्थात् उसको जीवन पदकै वरिपरिघुमिरहन्छ । कोही नेतालाई पदले लखेट्छ, कोही नेता पदको पछाडि मृगमरीचिकाको नियतिमा दौडिरहन्छन् । माधव नेपाल दोस्रो कोटिमा पर्छन् । माधव नेपाल एक पात्रमात्र होइनन्, प्रवृत्ति बनेर खडा छन् । पदलोलुप प्रवृत्तिको रूपमा । घोर प्रतिगमनकारी ज्ञानेन्द्रको आह्वानमा प्रधानमन्त्री पदको लागि विन्तीपत्र चढाए पनि उनी सफल हुन सकेनन् ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले निकै ठूलो चोट पाएको छ । एमालेको सचेत साङ्गठानिक र वैचारिक पहलकदमीले त्यो चोटको निदान र उपचार होला तर चारतिरबाट माधवले पाउने चोटले उनको राजनीतिको इहलिला सकिने चाहिँ निश्चित छ । जीवनको उत्तरार्धमा उनले जीवनभर कमाएको ख्याति समाप्त पार्नुबाहेक केही हात नलाग्ने पक्का छ ।

पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट जब उनलाई माओवादीले पराजित गर्यो, तब त्यही संविधानसभा सदस्य पद माओवादी सुप्रिमो प्रचण्डसँग बक्सिस मागे । माओवादी भिक्षाबाट संविधानसभामा पुगेका माधव नेपाल प्रधानमन्त्री पद माग्न चाहिँ गिरिजाको शरणमा पुगे ।

नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय–विनय गरेको तर पार्टी नफोरी त्यो सम्भव नहुने बताएपछि पछि हटेको बताइएको थियो । अहिले भनिदैछ- माधव नेपाल तीनतिर बार्गेनिङ गरिरहेका छन् ।

देउबासँग आफ्नो समूहले पाउने मन्त्रीको सङ्‌ख्यामा बार्गेनिङ गरिरहेका छन् । प्रचण्डसँग एमालेको विकल्पमा माओवादी केन्द्र, एमालेबाट आफ्नो नेतृत्वमा चोइटिने समूह, किरण, विप्लव, बाबुरामसहितको बाम–समाजवादी कित्ता बनाउने र त्यसको नेतृत्व पाउनुपर्ने बार्गेनिङ चलिरहेको छ । एमालेमा कानुनी हस्ताक्षरसहितको बराबरी हैसियत पाउनुपर्ने उनको एकताको बटमलाइन त सार्वजनिक भइसकेकै छ ।

विचारमा खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः चोटैचोट हो । हालको माधव नेपालको त्रिपक्षीय बार्गेनिङबाट केही हात लाग्ने छैन । नेकपाको एकतापछि प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष स्वीकार्दा पाएको हण्डर र ठक्कर एमालेले विर्सेको छैन । बरू एमालेको अध्यक्ष पदलाई विधान महाधिवेशनमार्फत् बढी शक्तिशाली र व्यवस्थित बनाइने छ तर एमालेको तर्फबाट उनले मागेजस्तो कानुनी अधिकारसहितको ओलीसरह अध्यक्ष कुनै हालतमा उपलब्ध हुने छैन ।

सरकारलाई पूर्णता नदिइ माधव नेपाललाई पर्खिएर बसेका भनिएका देउबाले उनका केही मानिसलाई ६ महिनाका लागि मन्त्री बनाउलान् । त्यसबाट उनको कुनै अभिष्ट पूरा हुदैन । एमालेको सिङ्गो पङ्क्ति विभाजित हुन नचाहेको र दोस्रो तहका नेतहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल (?), योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यले समेत एमाले छाड्न नमानेको अवस्थामा देउबाले हाल चाहेजस्तो एमाले विभाजन हुँदैन र गठबन्धनमा माधव नेपालको औचित्य पनि सकिदै जान्छ । एकातिर तीव्र कम्युनिष्टविरोधी देउबा सरकारमा कम्युनिष्ट हावी भएको हेर्न चाहँदैनन् भने अर्कोतिर एमसीसीको घाँडो त छँदैछ ।

जहाँसम्म एमालेको विकल्पमा बन्ने सम्भावित बाम मोर्चाको नेतृत्वको सवाल छ, त्यो नेतृत्व माधव नेपाललाई किमार्थ प्राप्त हुदैन । प्रचण्डले माधवलाई आफ्नो कार्यकर्ता बनाउन एमाले फुटाउन उक्साइरहेका हुन्, नेता बनाउन होइन । आफ्नो स्वार्थ पुरा नहुन्ज्याल कठपुतली बनाएर नचाउन हो, एमालेले दिएको हैसियत दिन होइन ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले निकै ठूलो चोट पाएको छ । एमालेको सचेत साङ्गठानिक र वैचारिक पहलकदमीले त्यो चोटको निदान र उपचार होला तर चारतिरबाट माधवले पाउने चोटले उनको राजनीतिको इहलिला सकिने चाहिँ निश्चित छ । जीवनको उत्तरार्धमा उनले जीवनभर कमाएको ख्याति समाप्त पार्नुबाहेक केही हात नलाग्ने पक्का छ ।

माधव नेपालसामू दुई विकल्प छन् । पार्टी मिलाएर हाई हाई हुने अथवा शून्यमा बिलाउने । प्रचण्डलाई उकासेर एकता भाँड्ने, देउबा–प्रचण्डसँग मिलेर एमालेको सरकार ढाल्ने, फ्लोर क्रस गरे गराएर देउबाको सरकार ‘दुःख गरेर’ टिकाउने अनि माफी चाहिँ ओलीले मात्र माग्नु पर्ने माग गर्न अलिकति शरम लाग्नु पर्ने हो । बरु ओलीसँग बसेर दुबैजनाले आलोचना–आत्मालोचना र रियलाइजेसन गर्ने अर्कै कुरा हो । नयाँ शिराबाट मिलनविन्दु खोज्नु जायज कुरा हो । ‘राम राम भन्न सकिन्छ गाइ लडदा काँध थाप्न ता सक्छ को ?’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेमा यक्ष प्रश्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:12 am6:48 pm +0545