Techie IT
बिहीबार, जेठ २,२०८२

दोलखास्थित भीमेश्वर मन्दिरमा पसिना


दोलखा, २५ वैशाख । दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज शनिबार पसिना आएको छ ।

मध्याह्न १२ः१५ बजेदेखि १ः३० बजेसम्म शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् । भीमेश्वरलाई पसिना आउँदा देशमा अनिष्ठ वा शुभ हुन्छ भन्ने दुईथरी धार्मिक मान्यता रहेको विश्वास गरिन्छ । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ ।

अध्यक्ष श्रेष्ठका अनुसार आज शिलाको दायाँतिरबाट पसिना आएको हो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवार वा शासकवर्गमा अनिष्ठ हुने र बायाँबाट पसिना आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

‘तीन दिन अघिदेखि नै पसिना आउने लक्षण देखिएको थियो’

मन्दिरका पुजारी काशीनाथ श्रेष्ठका अनुसार शिलामा पसिना आउने सङ्केत करिब तीन दिन अघिदेखि नै देखा परेको थियो । उनका अनुसार पसिना आउनुअघि शिलाको रङ नै परिवर्तन हुने गरेको छ । जसअनुसार पसिना आउने बेलामा शिलाको रङ कालो हुने उनी बताउँछन् ।

‘म ठिक १२ बजे हुने पूजाका लागि तयारी गर्दै थिएँ । मन्दिरका गहनाहरू तथा अन्य सामानहरू मिलाएर भित्र गएँ । सरसफाइ गरेँ र पूजा गरेँ,’ पुजारी श्रेष्ठले भने, ‘पूजाकै क्रममा धुपबत्ती गर्दै थिएँ । दायाँतिरको शीरमा एक थोपा ‘पसिना’ देखेँ । तर, पसिना नै हो भन्नेमा म स्पष्ट हुन सकिनँ । केहीबेर हेरिरहेँ ।’

हेर्दाहेर्दै केही बेरपछि ह्वार्रर पसिना आएको उनले बताए । पसिना आएपछि उनले अरु पुजारीलाई खबर गरे । उनीहरूले पनि हेरे र पसिना नै भएको टुङ्गोमा पुगेपछि प्रमुख जिल्ला अधिकारी र अन्य अधिकारीहरूलाई खबर गरेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीमेश्वर मन्दिरमा पसिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545