Techie IT
बुधबार, वैशाख २४,२०८२

प्रधानमन्त्री ओलीको बाटो र शशांकको साथ


महाभारतको वन पर्वको एक प्रसंगमा दुर्योधनको छलकपटपूर्ण जुवाखेलमार्फत गैरन्यायिक तरिकाले देश निकाला गरिएका पाण्डवहरुको नजरअन्दाज गरी तत्कालीन क्रूर शासक दुर्योधनको एक टोली ऐयाषी पारामा द्वैत वनको घोष यात्राकै क्रममा गन्धर्वका राजा चित्रसेनबाट आसुरी स्वभावको प्रतिनिधित्व गर्ने तानाशाही प्रवृत्तिका दुर्योधन नागपासद्वारा बाधिएको अवस्थामा जब आफैंले गैरन्यायिक तरिकाले देश निकाला गरी वन प्रवेश गराएका युधीष्ठिर, अर्जुनलगायतका भाइहरुबाट आफूलाई उद्धार गरेको परिघटनाले विछिप्त बनेको दुर्योधनले प्रायोपवेश गर्ने निर्णय गर्दछ । (अर्थात् अन्नपानी परित्याग गरी योगको माध्यमबाट मृत्युवरण गर्ने वैदिक प्रणाली) ।

तब ब्राह्माण्डको तमो गुणको प्रतिनिधित्व गर्ने दुर्योधनको प्राणस्त भएमा सारा राक्षसी शक्ति अर्थात् तमोगुण शक्ति निमिट्यान्न हुन गई ब्रह्माण्डबाटै आफ्नो मस्तित्व नरहने परिस्थितिलाई जोगाउन दानवीय शक्तिले कृत्य प्रविधिद्वारा तत्काल दुर्योधनलाई अपहरण गरी पातालको एक सभाकक्षमा स्कुलिङ गराएपछि दुर्योधनको ‘प्रायोपवेश’ गर्ने निर्णयमा पुनर्विचार भई पुनः आफ्नै स्वरुप तामसी मनोवृत्तिमा हस्तिनापुरको शासकमै स्थापित भएको दृष्टान्त पाइन्छ ।

समयको परिवर्तनसँगै नेपालको पछिल्लो राजनीतिक घटना क्रमको विकासमा समेत नेपालका राजनीतिक पार्टीहरुबाट देश र जनताले अपेक्षा गरेका राजनीतिक स्थिरता, राष्ट्रिय एकता, धर्म संस्कृतिको संरक्षण तथा स्वावलम्बी अर्थ व्यवस्था प्राप्त गर्न सकिरहेका छैनन् । बरु भरोसा गरिएका नेताहरुबाटै दुर्योधन प्रवृत्ति देखिन थालिएको छ ।

गत पुस ५ गते पाँच वर्षका लागि स्थीर भनी जनादेश प्राप्त सरकारलाई आफ्नै पार्टी नेकपाकै नेताहरुले विवादमाथि विवाद थप्दै जाने र राज्य सत्ता सञ्चालनमा सधैं बाधा अड्चन निम्त्याइरहेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भई संसद विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गर्नु भयो ।

यो निर्णयसाथ राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस बुझाइयो । राष्ट्रपतिले जननिर्वाचित सरकारको सिफारिसअनुसार नै निर्णय गरी आमचुनावको घोषणा भयो । (२०७७ फागुन ११ गते सर्वोच्च अदालतले सो निर्णयलाई बदर गरी संसद पुनर्स्थापना गरिसकेको छ) सोही घटना क्रमले नेपालको राजनीतिमा फेरि तरंगित बनेको छ ।

यसै परिप्रेक्ष्यमा प्रम ओलीको संसद विघटनको घटनालाई नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको संज्ञा दिँदै संसद पुनर्स्थापनापश्चात आफूले कुनै पद नलिने घोषणासमेत गर्नु भएको थियो । तर दाहालको अघिल्ला बाचाहरु कुनै पनि पूरा गर्नु भएका खासै भेट्न सकिन्न । त्यसो त संसद पुनस्र्थापना भएको भोलिपल्टै देखि प्रधानमन्त्री पद हत्याउने खेलमा उहाँ लागि सक्नु भएको छ ।

विगतका इतिहास नियाल्ने हो भने पनि २०६२ सालमा जनयुद्धको दशौं वर्षगाँठको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय टेलिभिजन माध्यम (सीएनएन) लाई दिएको अन्तर्वार्तामा पनि लोकतन्त्रको स्थापनापश्चात आफू कुनै पनि पदमा नबसी गान्धी बन्ने घोषणा गर्नु भएको थियो । तर त्यसपछिका २ अवधिमा उहाँ प्रधानमन्त्री हुनु भयो ।

अब तेस्रो पटकका लागि पनि प्रयास गर्दै हुनुहुन्छ । साँच्चै उहाँ (पुष्पकमल) २०६३ को परिवर्तनपछि सत्ताको झिनाझम्टीमा नफसी गान्धी बन्नु भयो त ? बरु ०६३ को परिवर्तनले सदियौंदेखि रहँदै आएको राष्ट्रिय एकतामा दरार खडा गराएको तीतो यथार्थ देखियो ।

ढिलै भए पनि प्रम ओलीले बहुसंख्यक नेपालीको आस्थाको प्रतीक पशुपतिनाथमा विशेष पूजा गर्नु, पशुपतिनाथमा सुनको जलारी स्थापना गराउनु, भारतीय सञ्चार माध्यममा दिनु भएको अन्तर्वार्तामा हिमवत खण्डको उजागर तथा अखण्ड नेपालको मूल मर्म मै अडिग रहनुले तुलनात्मक रुपमा अन्य नेताहरुभन्दा राष्ट्रवादको सवालमा ओलीका विचारलाई गुण र दोषको आधारमा समर्थन गर्ने ठाउँ प्रशस्तै देखिन्छ ।

अन्तमा, जनतालाई प्रजातान्त्रिक अधिकार उपलब्ध हुनुपर्ने, उत्पादनका साधनहरुको अधिकतम् उपयोग हुनुपर्ने आदि उद्देश्य राखेर बीपी कोइरालाको अग्रसरतामा स्थापित नेपाली कांग्रेसले पनि जनअपेक्षा गरेका धर्म संस्कृतिको संरक्षण तथा अखण्ड नेपालको मर्मलाई समेट्न नसकेकै हो । ऊ अहिले पनि त्यस मार्गमा लागेको देखिन्न ।

नेपाली कांग्रेसको महामन्त्रीमा महान् क्रान्तिकारी नेता बीपी कोइरालाको छोरा डा. शशांक कोइराला रहनु भएकाले आमनेपालीहरुले उहाँसँग धेरै नै अपेक्षा गरेका छन् ।

तर, कुनै बेला मेरो घरमा लम्पसार परेका कांग्रेसको आवरणमा रजहर गाउँ पञ्चायतको प्रधानपञ्च तथा गाविस अध्यक्षमा समेत पराजित लुच्चो लफुंगो प्रवृत्ति तथा २०४६ सालको जनआन्दोलनमा नेका नेता सूर्यभक्त अधिकारी, तिलक सापकोटा, पुष्पराज पौडेल, हेमराज कोइरालालगायतलाई गिरफ्तार गराउन मेरो घरमा प्रहरी पठाउने प्रतिकार समितिमा बसेका मण्डले प्रवृत्तिका व्यक्तिहरुबाट शशांक कोइराला घेरिनु भएकोले कांग्रेस आज पनि दुर्योधनकै मार्गमा छ ।

यसलाई (कांग्रेसलाई) जनमुखी बनाउन डा. कोइरालाले कस्तो कदम चाल्नु हुन्छ त्यो भने भविष्यले नै बताउला ।

लेखक आचार्य समसामयिक राजनीति तथा आध्यात्मिक विषयमा कलम चलाउनु हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नारायण आचार्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545