नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ जानुभएको नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । “पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो”, गौतमले भन्नुभयो ।
केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बस्नुभएको थियो । उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो । उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए । ‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । “छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण हैन”, बाँस्कोटाले भन्नुभयो । उहाँले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भन्नुभएको छ । कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाका नेताको गाडी तोडफोड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्