चन्द्रागिरिका वडाध्यक्षलाई प्रधानमन्त्रीको त्यो फोन

काठमाडौं । दिउँसभर वडाका काम सकेपछि उत्तमबहादुर राउत मोबाइल चार्जमा राखी घरमै टहलिरहनुभएको थियो ।
साँझ ६ बजेर ५५ मिनेट । केपी शर्मा ओली लेखिएको नाम राउतको मोवाइलको ट्रीयुकलरमा देखाउँदै घन्टी बज्यो ।
कोही ‘सर्टकर्ट’ नाममा ‘सेभ’ भएका साथीले गरेको होला भन्ने सोच्दै राउतले उठाउन खोज्नुभयो । भ्याउनुभएन ।
तत्कालै कल ब्याक गर्नुभयो । उता उठेन ।
चन्द्रागिरि नगरपालिका १५ नम्बर वडाध्यक्ष राउतको मनमा कतै यो फोन मुुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीको त होइन भन्ने लाग्न थालिसकेको थियो । सोचिरहेका बेला २ मिनेटपछि अर्थात साँझको ६ बजेर ५७ मिनेटमा फेरी सोही नामबाट कल आयो ।
उताबाट वडाध्यक्षजी होइन ? भन्ने आवाज आयो ।
राउतले स्वर ठम्म्याइहाल्नुभयो । त्यो कल रहेछ- प्रधानमन्त्री केपी शर्मा ओलीकै ।
अघिल्लो आइतबार साँझको कुरा हो यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा त्यो दिउँसभर् नेताहरुको चहलपहल थियो । अझ, प्रधानमन्त्री आफ्नै दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ लगायत केही नेताका तारन्तारका असन्तुष्टिका बीचमै व्यस्त हुने अनुमान हुन्थ्यो ।
बालुवाटारको ३ नम्बर गेटको ओहोरदोहोर र त्यसबारे मिडियाको रिपोर्टिंग हेर्दा प्रधानमन्त्री ओली साँच्चै घेराबन्दीमा परेका त होइनन् भन्ने जो कसैलाई लाग्दथ्यो (यद्यपी त्यो क्रम अझै जारी छ ) ।
वडाध्यक्ष राउतले त्यस्तो नठान्ने कुरै भएन । यस्तो बेला कसरी आउला मलाई फोन भनी सोच्न नभ्याउँदै उठाएको फोन उनै प्रधानमन्त्रीको थियो ।
‘प्रधानमन्त्रीले नै कल गरेको थाहा पाएपछि नमस्ते त गरेँ । एक छिन त हडबडाएँ । तर पछि सम्हालिएर कुरा गरेँ, प्रधानमन्त्री ओलीको अनपेक्षित कल सामना गरेको अनुभव सुनाउँदै अध्यक्ष राउतले भन्नुभयो, मैले पनि आफ्ना कुरा राखेँ । उहाँले पनि वडाका गतिविधि र विकास, समृद्धिबारे आफ्नो धारणा सुनाउनुभयो ।’
काठमाडौं खाल्डोभित्रबाट बाहिरिने नाकामै पर्ने चन्द्रागिरि नगरपालिका राजधानी हुँदा पनि विकासमा ओझेल परेको छ । गाउँठाउँ, कुनाकाप्चामा अझै विकासका पूर्वाधार खडा भइसकेका छैनन् । जनताको जीवनस्तर माथि उठ्न सकेको छैन ।
सम्भावना हुँदा पनि पछि परिरहेको यो भेगमा सानो तवरबाट हुने प्रयास र पहलले समेत निकै ठूलो काम गरिरहेको छ । जनतालाई आशा जगाइरहेको छ । त्यहीमध्येको एक हो, वडा नम्बर १५ को तीनथाना क्षेत्र ।
कलंकीबाट चोभारतर्फ अघि बढ्दा नैकाप आसपास देब्रेतिरको गल्ली पसेपछि यो क्षेत्र पुगिन्छ । ५ मिनेटकै दूरी पार गर्नेवित्तिकै यो वडामा भएको विकास, वडावासीको त्यसमा सहभागिता प्रष्ट हुन्छ ।
देखिनेगरी भइरहेका प्रमुख काम भनेको ‘भिराडिल खाइके साकुरा’ पार्क, कौशी खेती र शैक्षिक कोष हो । यी सबैमा वडावासीको साथ र सहयोग छ ।
प्रधानमन्त्रीले उक्त वडामा भइरहेको विकासको काम र जनसहभागिताबारे आफूले समाचार सुनेको समेत जानकारी गराउनुभएको थियो ।
ओलीले सुरुमा वडा तहबाट भइरहेका यी कामको प्रशँसा गर्नुभयो । निरन्तरता दिन भन्नुभयो ।
यो पार्क चन्द्रागिरि र कीर्तिपुर जोड्ने सिमानामा छ । भीर र ओडारमा बनेको यो पार्कमा मिनी रेल, जिपलाइन र रक क्लाइम्बिंगको तयारी भइरहेको छ । पार्कभरी एकताका नेपालबाटै गएको भनिएको जापानको राष्ट्रिय फूल साकुरा र अन्य विचित्र फूल विरुवा हुर्किरहेका छन् ।
प्रधानमन्त्री ओलीको मुख्य चासो वडा तहमा कसरी काम भइरहेका छन् ? के- कस्ता समस्या छन् ? त्यसलाई कसरी सामना गर्नुपरेको छ ? भन्नेमा केन्द्रीत थियो । त्यतिमात्र होइन, विकास निर्माणका अवरोधहरु के के हुन ? नगरपालिकाको नेतृत्व तहबाट कस्तो समन्वय हुन्छ ? प्रदेश सरकार र संघबाट के कस्तो काम भएको महसुस भइरहेको छ ? भन्ने जिज्ञासा राख्नुभएको थियो ।
‘मैले आफूले जानेबुझेको भनिदिएँ । मूलत: आफ्नो वडामा भइरहेका कामको जानकारी दिएँ । विकासका अवरोध गर्ने तत्व र प्रवृत्ति पनि बताइदिएँ’, अध्ययनले इन्जिनियरसमेत रहनुभएका राउतले आफूले जानेबुझेको अनुभव प्रधानमन्त्री ओलीलाई सुनाएको बताउनुभयो ।
राउतलाई एक त प्रधानमन्त्री तहबाट, त्यो पनि राजनीतिक खिचातानीले झमेलामा परिरहेका बेला प्रधानमन्त्रीबाट यस्तो चासो होला भन्ने दशमा एक मनले पनि सोच्नुभएको रहेनछ ।
‘म यस्ता कुरामा चासो राख्छु । तपाईँ तल्लो तहमा बसेर पनि इमान्दार साथ देश र जनताका लागि सक्रिय रहनुहोस् । मेरो तहबाट हुने सहयोग सदैव हुन्छ’, ओलीले राख्नुभएका यस्ता बचन सुनेर आफू गौरावान्वित भएको समेत राउतले सुनाउनुभयो ।
प्रधानमन्त्री ओलीले १८ मिनेट वडाध्यक्ष राउतसँग फोनमा कुराकानी गर्नुभएको थियो ।
भिराडिल पार्कमार्फत कसरी जनता सुखी र धनी हुन्छन् भन्नेमा कुराकानी भएको थियो । राउतले उक्त परियोजनामा सबै वडावासीको लगानी हुने र त्यसको प्रतिफल सबैको घरमा पैसा पुग्ने योजना पनि सुनाउनुभयो ।
भिराडिल पार्कस्थित चन्द्रागिरि र जोड्ने झोलुंगे पुल ।
तीनथानाको अर्को विकास १२५ घरको कौशीखेतीसमेत हो । हरेक घरका छतमा रहर लाग्ने तरकारी खेती छ । त्यसमा प्रदेश सरकारको साथ पनि छ । घरधूरी स्वयंले पनि थोरै लगानी गरेका छन् ।
कौशीखेतीबारे प्रधानमन्त्री ओलीको व्याख्यान र निष्कर्ष सुनेर इन्जिनियर वडाध्यक्ष राउत आफै चकित पर्नुभयो ।
पुल्चोक इन्जिनियरिंग क्याम्पसमा थेसिस गर्दा आफूले कौशी खेतीबारे अध्ययन गरेको, त्यतिबेला आफूले निकालेको निष्कर्ष ओलीका मुखबाट सरर.. सुन्दा आफू चकित परेको उहाँले सुनाउनुभयो ।
‘मैले त्यत्रो महिना लगाएर पढेर थाहा पाएको कुरा मलाई पाँचै मिनेटमा सबै भनिदिनुभयो । म त हेरेको हेर्ये भएँ’, राउतले सुनाउनुभयो ।
पैसा बचत हुने, अर्गानिक खाना पाइने, बालबच्चा र ज्येष्ठ नगारिकलाई फाइदा, खाली जग्गाको उपयोग, बिषादीबाट बच्नेलगायत फाइदा सुनाउँदै ओलीले कौशी खेतीलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।
बालुवाटारमा आफूले कुरिलो लगाएको र त्यसको सेवनले फाइदा पुगेको जानकारी पनि दिनुभयो । मिलेसम्म कौशीखेती र पार्क अवलोकनमा आउने इच्छा पनि राख्नुभयो ।
राउतले क्युवाले रसियासँग नाकाबन्दीका बेला कौशी खेती र खाली सार्वजनिक जग्गाको उपयोगबाट २८ प्रतिशतले आन्तरिक उब्जनी बढाएको उल्लेख गर्दै त्यसबाट हौसिएको सुनाउनुभएको थियो ।
चन्द्रागिरि- १५ का स्थानीय कौशीखेतीमा ।
वडाध्यक्ष्यले स्थानीय तहमा भइरहेका विकृति, समयमा काम नहुने, काम भन्दा बढी खर्च हुने, ठेकेदारले गर्ने लापार्वाही समेत भन्न भ्याउनुभयो । उहाँले कलंकी नागढुंगा सडक विस्तार ताकाका दुख र झमेला समेत प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो । त्यतिबेला सडक, खानेपानी, टेलिकम, प्रहरी, ठेकेदार सबैलाई वडा कार्यालयमै ल्याएर कडा निर्णय गर्नुपरेको स्मरण सुनाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीको यस किसिमले हौसला दिने तरिका देखेर खुशी हुँदै राउतले भन्नुभयो, ‘माथिल्लो तहबाट यसरी सम्झिँदा हामीलाई उर्जा मिल्छ । दायाँबायाँ केही नगरी जनताको पक्षमा काममा उत्रिन सक्छौँ । देश बन्ने नै वडा-वडाको विकासबाट हो । सबै वडा समृद्ध भए देश समृद्ध हुन्छ । मैले पनि प्रधानमन्त्रीज्यूलाई यही भनेँ ।’
चन्द्रागिरिमा मात्र होइन, देशका प्रायः स्थानीय तहमा भइरहेका उत्साहजनक कामले प्रधानमन्त्री ओलीको ध्यान खिच्छ । विकासका सपना देख्नेमात्र होइन, जीवित हुँदै त्यसलाई पूरा गर्नुपर्छ । देशमा समृद्धि ल्याई जनतालाई खुशी तुल्याउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उहाँ यस्ता कुराकानीमा दोहोर्याइरहनुहुन्छ । राम्रा काम गर्ने पात्र र प्रवृत्तिलाई प्रोत्साहित गर्नुहुन्छ ।
‘राजनीतिक भेटघाटमात्र होइन, समाचारमा नआउने विकास र समृद्धि जोडिएका यस्ता भेटघाट र टेलिफोनलाई प्रधानमन्त्रीले भ्याएसम्म प्राथमिकता दिनुहुन्छ । कुनै अड्किएका कामहरु भए सम्बन्धित निकायमा भनी सहज पनि तुल्याइदिनुहुन्छ’, प्रधानमन्त्री ओलीको दिनचर्याबारे बालुवाटार स्रोतले खुलानेपाललाई जानकारी दियो ।
वडाध्यक्ष राउतलाई फोन एउटा दृष्टान्त हो ।
राउतले पार्क आयोजना, कौशी खेती र शैक्षिक कोषलाई प्रधानमन्त्रीले बोकेका समृद्धिको अभियानसँग जोडेको पनि सुनाउनुभयो । पार्कले नियमित आम्दानी दिन थालेपछि त्यो पैसा हरेक जनताको घरमा पुग्ने वडाले योजना बनाएको सुनाउनुभएको थियो ।
राउतको अगुवाईमा वडाले अघि सारेको शैक्षिक कोषको अभियान पनि नमुना छ । प्रधानमन्त्रीले यो कोषबाट भइरहेका शैक्षिक गतिविधि समेतमा अभिरुची राख्नुभएको थियो । उक्त कोषमा हरेक वडावासीले दिनको एक रुपैयाँ कम्तीमा जम्मा गरिरहेका छन् । त्यसमा वडाध्यक्षको पारिश्रमिक समेत जम्मा हुन्छ ।
त्यसरी जम्मा गरेको पैसाबाट विद्यालय तहमा २० जना, ११ कक्षामा ७ र १२ कक्षामा ७ जनालाई निशुल्क अध्ययन, युनिफर्म र स्टेशनरीको व्यवस्था गरेको छ । चुनाव जितेकै वर्षबाट थालिएको यो अभियानको पनि वडाभित्र र बाहिर प्रशंसा भइरहेको छ ।
‘हामी अर्कै सोच्दा रहेछौं । तल के भइरहेको छ, प्रधानमन्त्रीलाई के थाहा नी भन्छौं, कहिलेकाहीँ । तर, प्रधानमन्त्री ओली भिन्न पाएँ । यसरी वडा तहमा सिधै फोन गरी जानकारी लिने र हौसला दिनु नै यसको प्रमाण हो । वडाका पुरै टिम अति उत्साहित भएका छौं ‘, प्रफुल्ल हुँदै राउतले सुनाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चन्द्रागिरिका वडाध्यक्ष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्