सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु
सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ ।
काठमाडौँमा तालीमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताउनुभयो । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले जानकारी दिनुभयो । एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।
गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ । “नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टरं)मा सङ्क्रमण फैलिएको छ”, उहाँले भन्नुभयो, “अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।”
गत माघ १० गते नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको थियो । अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना सङ्क्रमणबाट निको भएको, ५९० जनाको निधन र २६ हजार ६८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।
यस्तै सङ्क्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ । यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उहाँले दशैँ अगाडि सबै नमूना सङ्कलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताउनुभयो ।
कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो । अध्ययनका क्रममा जति प्रतिशतलाई सङ्क्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा सङ्क्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिनुभयो । “सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, महाशाखाका निर्देशक डा पाण्डेले भन्नुभयो, “तर अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।”
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्