अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति
चितवन, २२ साउन ः मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन । जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।” सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने आफुहरुले रु पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताउनुभयो । प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ ।
उहाँले भन्नुभयो, “परीक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन् ।” अनुमतिको पर्खाइमा कलेज रहेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “म आज काठमाडौँ जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु ।” भरतपुर अस्पतालमा दैनिक पिसिआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताउनुभयो ।
त्यसैगरी चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको यही साउन १४ गतेको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पिसिआर परीक्षण गर्ने उल्लेख छ । त्यसैगरी सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, सङ्क्रमितसँग प्रत्यक्षरुपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ । यसैगरी १४ दिनभित्र सङ्क्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । कोरोना सङ्क्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ ।
त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् । सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ११६ पुगेको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #pcr test
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्