उदयपुरमा त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध
लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।
त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने सम्भावना देखिएको छैन । अवरुद्ध विद्युत् सञ्चालनमा ल्याउन समय लाग्ने देखिन्छ ।’
तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ ।
तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको जनाइएको छ । विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गरेको छ । पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधान गर्न कसैको ध्यान नगएकोमा उपभोक्ता आक्रोशित छन् ।
यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी प्रसारणलाइनको क्षमता थपिएकाले पनि समस्या भएको जिल्लावासीको आरोप छ । वि.सं. २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको विद्युत् पोल अहिलेसम्म पनि स्तरोन्नति गरिएको छैन ।
पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा दुई कर्मचारीको मृत्यु भइसकेको छ भने एक अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्