हाम्रो शरीरको गन्ध र खानपिनबीच कुनै सम्बन्ध छ ?
लसुन, रक्सी, मासु र यहाँसम्म कि उपवासले समेत हाम्रो शरीरको गन्धलाई बदल्न सक्छ । अनि हामीबाट निस्कने गन्धले अरूका लागि कत्तिको आकर्षित छौं भन्ने निर्धारण गर्छ । हरेक मानिसको आफ्नै एउटा फरक गन्ध हुन्छ, जसरी हरेक व्यक्तिको औँलाका छाप फरक हुन्छन् । हाम्रो व्यक्तित्व, हाम्रो मानसिक अवस्था र स्वास्थ्य जस्ता कुराले समेत हाम्रो शरीरको गन्धलाई निर्धारण गर्छ ।
हाम्रो गन्ध हाम्रो जीन, हार्मोन, स्वास्थ्य र सरसफाइका बानीहरूबाट हाम्रो गन्ध निर्धारण हुन् कुरा बिगतका केही दशकमा भएका अनुसन्धानले पुष्टि गरेको स्कटल्यान्डको युनिभर्सिटी अफ स्टर्लिङका सामाजिक मनोविज्ञानका प्रोफेसर क्रेग रोबर्ट्स बताउँछन्। ‘चाहे हामी पुरुष हौँ वा महिला, युवा हौँ वा वृद्ध, समलिङ्गी वा विपरीतलिङ्गी, स्वस्थ हौँ वा बिरामी, खुसी हौँ वा उदास, हाम्रो गन्धले हाम्रो शरीरको अवस्था देखाउँछ’ उनी सुनाउँछन् ।
यीमध्ये धेरै कुराहरू हाम्रो नियन्त्रणमा हुँदैनन् । तर केही चीजहरू हाम्रो हातमा छन् ।
श्वास र पसिना
स्टेट युनिभर्सिटी अफ न्यूयोर्क बिङ्घम्टनकी हेल्थ एन्ड वेलनेस स्टडीजकी सहायक प्रोफेसर लीना बेगदाचेका अनुसार जैविक स्तरमा खानाले हाम्रो शरीरको गन्धलाई दुई प्रमुख तरिकाहरूले प्रभावित गर्छ । यी दुई तरिकाहरू हुन्: हाम्रो पाचन प्रणाली र हाम्रो छाला ।
पहिलो तरिकाको कुरा गरौँ । जब हामी खाना पचाउँछौँ, तब आन्द्रामा भएका ब्याक्टेरियाले खानालाई टुक्र्याउँछन् । यो प्रक्रियाको क्रममा भोजनमा भएका रासायनिक तत्व र ब्याक्टेरियाको कारणले ग्यासहरू बन्छन्।
यी ग्यासहरू भोलाटाइल मोलिक्युलहरू हुन्छन्, जुन शरीरबाट त्यसरी नै बाहिर निस्कन्छन् जसरी खान भित्र गएको थियो । यसै कारणले गर्दा कहिलेकाहीँ श्वासमा दुर्गन्ध आउँछ, जसलाई ह्यालिटोसिस भनिन्छ ।
तथ्याङ्कअनुसार विश्वभर लगभग एकतिहाइ वयस्क कुनै न कुनै रूपमा यो समस्याबाट पीडित छन् । यद्यपि यसका अन्य कारणहरू पनि हुन सक्छन् ।
दोस्रो तरिका हो, छाला । जब भोजनका रासायनिक अवयवहरू शरीरमा पचेर टुक्रिन्छन्, तब तिनीहरूको केही अंश रगतको प्रसार मार्फत शरीरका विभिन्न भागमा पुग्छ ।
यसको एक अंश पसिनाको रूपमा छालाबाट बाहिर निस्कन्छ । त्यहाँ यिनीहरूले छालामा भएका ब्याक्टेरियासँग मिलेर गन्ध पैदा गर्छन् । ध्यान दिनुपर्ने कुरा के छ भने पसिनामा आफैँ कुनै गन्ध हुँदैन । तर, जब पसिना ब्याक्टेरियाको सम्पर्कमा आउँछ, तब त्यसले गन्ध उत्पन्न गर्छ।
फरक-फरक खानेकुराहरूमा फरक-फरक रासायनिक यौगिकहरू हुन्छन्, जसको असर शरीरमा अलग-अलग चरणहरूमा पर्छ । तर लगभग हरेक पटक तीव्र वा तितो गन्धको एउटा ठूलो कारण हुन्छ- सल्फर । केही अध्ययनहरूका अनुसार यी सल्फरयुक्त यौगिकहरूले कहिलेकाहीँ मानिसलाई अझ आकर्षक बनाउन सक्छन् ।
फलफूल र तरकारीहरू
ब्रोकाउली, बन्दागोभी, फूलगोभीलाई स्वस्थ आहारको अंश मानिन्छ । तर यिनमा सल्फर कम्पाउन्ड धेरै मात्रामा पाइन्छन् । यही कारण यिनीहरूबाट कहिलेकाहीँ सडेको अण्डा जस्तो गन्ध महसुस हुन्छ ।
पोषण चिकित्सक केरी बिसनका अनुसार जब यी सल्फर भएका तत्वहरू रगतमार्फत शरीरमा घुम्छन् र छालामा भएका ब्याक्टेरियाको सम्पर्कमा आउँछन्, तब पसिना तीव्र र तितो गन्ध वाला हुन जान्छ ।
लसुन र प्याज जस्ता चीजहरूले पनि हाम्रो श्वास र पसिनाको गन्धलाई प्रभावित गर्छन् । यसको कारण त्यही हो, जुन बन्दागोभी वर्गका तरकारीहरूमा हुन्छ ।
जब यी चीजहरू शरीरमा पच्छन्, तब यिनीहरूबाट दुर्गन्ध पैदा गर्ने यौगिकहरू जस्तै डाइलिल डाइसल्फाइड र एलिल मिथाइल सल्फाइड बन्छन् । यी कम्पाउन्डहरू शरीरबाट फरक-फरक समयमा निस्कन्छन्।
केही खानेबित्तिकै तुरुन्तै निस्कन्छन् । र, एलिल मिथाइल सल्फाइड लगभग ३० मिनेटपछि आफ्नो सबैभन्दा बढी प्रभावमा हुन्छ । रोचक कुरा यो छ कि, धेरै अध्ययनहरूका अनुसार लसुनले श्वासको गन्धलाई खराब गरे पनि लसुनले शरीरको पसिनाको गन्धलाई अझ आकर्षक बनाइदिन्छ।
एउटा अध्ययनमा ४२ पुरुषलाई १२ घण्टासम्म कपासका प्याड काखीमा लगाइएको थियो । त्यसो गर्नुको कारण उनीहरूको पसिना जम्मा गर्नु थियो । तीमध्ये केहीले थोरै मात्रामा लसुन खाए । केहीले धेरै खाए र केहीले लसुनका सप्लिमेन्ट लिए ।
पछि ८२ महिलाहरूलाई ती प्याडहरूको गन्धहरू सुँधेर त्यसको प्रतिक्रिया लिइयो । त्यसक्रममा रेटिङका आधारहरू बनाइएका थिए । जस्तो, गन्ध कत्तिको राम्रो लाग्यो ? कत्तिको आकर्षक थियो ? कत्तिको प्रभावशाली थियो ? कत्तिको तीव्र थियो ?
नतिजामा भने जसले थोरै लसुन खाएका थिए, उनीहरूको गन्धमा धेरै फरक थिएन । तर, जसले धेरै लसुन खाएका थिए, उनीहरूलाई धेरै आकर्षक र मनपर्ने मानिएको थियो । यहाँसम्म कि लसुनका सप्लिमेन्ट लिने सहभागीहरूलाई पनि अझ आकर्षक ठानिएको थियो ।
यो प्रयोगको नेतृत्व गर्ने वैज्ञानिक जान हावलीचेक चेक गणतन्त्रको चार्ल्स युनिभर्सिटीमा ह्युमन इथोलोजी र रासायनिक सञ्चारमा काम गर्छन् । उनले यो अध्ययनलाई तीन पटक दोहोर्याएको तर तिनवटै नतिजा उस्तै आएको र त्यसबाट आफूहरू अचम्ममा परेको बताएका थिए ।
जान हावलीचेकका अनुसार लसुनमा भएका एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल गुणहरूले शरीरको स्वास्थ्यलाई सुधार गर्छन् । यही कारण लसुन खाने पुरुषहरूको गन्ध महिलाहरूलाई अझ राम्रो लागेको उनको अनुमान छ ।
केही तरकारीहरूले हाम्रो गन्धमा फरक तरिकाले असर गर्छन्।
उदाहरणका लागि, एस्पारागस नामको बिरुवामा एस्पाराग्यूसिक एसिड नामको यौगिक (कम्पाउन्ड) पाइन्छ । जब यो शरीरमा पच्छ, तब यसबाट सल्फर भएका कम्पाउन्डहरू बन्छन् । उदाहरणका लागि, मिथेनथियोल र डाइमिथाइल सल्फाइड । यी रासायनिक तत्वले पसिना र पिसाब दुवैमा एक खास गन्ध पैदा गर्छन्।
सल्फर कम्पाउन्डहरू हावामा सजिलै फैलिन्छन् । त्यसैले शौचालयमा पनि यिनको गन्ध सजिलै निस्कन्छ । यो गन्ध सामान्यतया पाँच घण्टाभन्दा बढी समयसम्म रहन्छ ।
हरेक व्यक्तिमा यो गन्ध बन्छ नै भन्ने हुँदैन । त्यस्तै अध्ययनहरूका नतिजा पनि फरक-फरक छन् । १९५० को दशकमा गरिएको अनुसन्धानबाट ५० प्रतिशतभन्दा कम
मानिसहरूले यो गन्ध पैदा गर्ने पत्ता लागेको थियो । तर, २०१० को एउटा अध्ययनमा ९० प्रतिशतभन्दा बढी सहभागीहरूमा यो गन्ध थियो । अर्थात् यो पूर्णरूपमा स्पष्ट छैन ।
त्यस्तै सबैले यो गन्ध महसुस पनि गर्न सक्दैनन् । कसैलाई आफ्नो एस्पारागस वाला पिसाबको गन्ध महसुस हुन्छ वा हुँदैन, यो कुरा उनीहरूको जेनेटिक्समा निर्भर गर्ने गर्छ ।
यद्यपि जब फलफूल र तरकारीहरूको समग्र उपभोगको कुरा आउँछ, तब यिनीहरूलाई धेरै मात्रामा खानाले शरीरको गन्ध अझ आकर्षक बन्न सक्छ ।
सन् २०१७ मा अस्ट्रेलियामा भएको एउटा अध्ययनमा पुरुषहरूले अधिक फलफूल र तरकारीहरू खाँदा उनीहरूको गन्ध फल जस्तै हुने पत्ता लागेको थियो । त्यस्तै जसले आफ्नो आहारमा थोरै मात्रामा बोसो, मासु, अण्डा र तोफू समावेश गरेका थिए, उनीहरूको पसिनाको गन्ध पनि धेरै राम्रो पाइएको थियो । यसको विपरीत, कार्बोहाइड्रेटले भरिपूर्ण आहार लिनेहरूको गन्ध सबैभन्दा कम आकर्षक मानिएको थियो ।
माछा/मासु
मासु र माछाले पनि शरीरमा एक खास गन्ध उत्पन्न गर्न सक्छन् । शरीरले एनिमल प्रोटिनलाई एमिनो एसिड र फ्याटमा टुक्र्याउँदा यसो हुने गर्छ । यी एमिनो एसिड र फ्याट पसिनामा बाहिर निस्कन्छन् र छालाका ब्याक्टेरियासँग मिलेर गन्ध पैदा गर्छन् ।
उदाहरणका लागि, माछा र सिमीले शरीरमा गन्ध पैदा गर्न सक्छन् । किनकि यिनमा ट्राइमिथाइलएमाइन हुन्छ । जुन तुरुन्तै गन्ध फैलाउने कम्पाउन्ड हो । आहारविद् बीसन ‘ट्राइमिथाइलएमाइन्युरियाका अनुसार नामको एउटा स्वास्थ्य समस्या (हेल्थ कन्डिसन) छ, जसलाई फिश ओडर सिन्ड्रोम पनि भनिन्छ । शरीरले ट्राइमिथाइलएमाइनलाई गन्धरहित कम्पाउन्डमा बदल्न नसक्दा यस्तो अवस्था हुन्छ । यसो भएको खण्डमा शरीरबाट ह्वास गन्ध आउने तर यस्तो अवस्था निकै दुर्लभ हुने उनको भनाइ छ ।
उदाहरणका लागि, २०२५ को एउटा केस रिपोर्टमा एउटा १० महिनाको बच्चालाई ट्राइमिथाइलएमाइन्युरिया भएको उल्लेख छ । माछा खाएपछि त्यो बच्चाबाट सडेको माछा जस्तो गन्ध आउँथ्यो । यो अवस्था उनलाई सधैं हुन्थेन । पछि सामान्य उपचार पछि उनको अवस्था ठिक भएको थियो ।
रक्सी र कफी
लीना बेगदाचेका अनुसार बारम्बार रक्सी खाँदा पेट र पसिना दुवैबाट खराब गन्ध पैदा हुन सक्छ । रक्सीलाई कलेजोले टुक्र्याएर एसिटाल्डिहाइड नामको एउटा कम्पाउन्ड बनाएपछि त्यस्तो हुने उनको भनाइ छ । जुन एउटा विषालु र भोलाटाइल कम्पाउन्ड हो ।
यसको गन्धलाई सजिलै सबैले थाहा पाउन सक्छन् । जुन रक्सीको गन्ध जस्तै आउँछ । एउटा अध्ययनका अनुसार प्रहरी अधिकारीहरूले ६० देखि ८५ प्रतिशतसम्म मुखको गन्धले मात्रै कसैले रक्सी पिएको छ वा छैन भनेर बताउन सक्छन् । तर व्यक्तिले कति रक्सी पिएको छ भन्ने कुराले यो कुरा निर्क्यौल गर्छ ।
रक्सीले प्राय: शरीरलाई डिहाइड्रेट गर्छ । मुखमा र्याल कम गर्छ । जसले गर्दा मुखमा ब्याक्टेरिया बढ्छन् । फलस्वरुप श्वासमा दुर्गन्ध बनि रहन्छ । त्यस्तै कफी र चियामा पाइने क्याफिनले एपोक्राइन ग्रन्थीहरूलाई उत्तेजित गर्न सक्छ । यी ग्रन्थीहरूले शरीरका धेरै भागहरू जस्तै काखी र पेट र तिघ्राको बीचको भागमा पसिना पैदा गर्छन् ।
केरी बीसनका अनुसार पसिनामा हुने यो वृद्धिले ब्याक्टेरियाहरू फल्ने-फुल्नका लागि अझ अनुकूल वातावरण बनाउन सक्छ । त्यसले शरीरबाट गन्ध निकल्छ । यसै सन्दर्भमा गरिएको एउटा अध्ययनले पनि क्याफिनका मोलिक्युलहरू पसिनामा पनि पाउन सकिने निष्कर्ष निकालेको थियो । तर क्याफिनले शरीरको गन्धलाई कति प्रभाव पार्छ भन्नेबारे ठोस जानकारी भने छैन ।
गन्ध र सामाजिक सम्बन्ध
पसिनाको गन्ध र सामाजिक अन्तर्क्रियाको अध्ययन गर्ने रोबर्ट्सका अनुसार सबै स्तनधारी प्राणीहरूमा गन्धले सामाजिक अन्तर्क्रियामा महत्त्वपूर्ण असर पारिरहेको हुन्छ । कुनै व्यक्ति आकर्षिक लाग्नु अथवा नलाग्नुमा गन्धको भूमिका पनि हुन्छ । रोबर्ट्स भन्छन् कि गन्धका प्रभावहरूलाई अरू सामाजिक सङ्केतहरू, जस्तै मानिसहरू कस्तो देखिन्छन्, कसरी व्यवहार गर्छन् र कसरी कुरा गर्छन्, बाट अलग गर्न गाह्रो छ ।
तर पनि यी कुराहरूलाई वैज्ञानिक रूपमा नजिकबाट बुझ्ने प्रयासमा विरोधाभासी नतिजाहरू आइरहेका छन् ।
उदाहरणका लागि, जान हावलीचेकले एउटा प्रयोग पनि गरेका थिए । जसमा उनले पुरुषहरूलाई महिलाहरूको काखीको पसिनाको गन्धको रेटिङ गर्न लगाएका थिए ।
यो प्रयोगमा सहभागी केही महिलाहरूले सामान्य रूपमा खाना खाएका थिए भने र केहीले ४८ घण्टासम्म ब्रत बसेका थिए । यद्यपि दुवै समूहका बीचमा कुनै ठूलो भिन्नता पाइएन । यद्यपि ब्रत बस्ने महिलाहरूको पसिना नबस्नेको तुलनामा धेरै आकर्षक पाइएको थियो ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्