चीनमा कोरोना भाइरसको रोकथाम अझै अनिश्चित, ज्यान गुमाउनेको संख्या ८१३ पुग्यो

गत महिना वुहान शहरका एक चिकित्सकले कोरोना भाइरसको संक्रमणबारे सार्वजनिक रुपमा खुलासा गर्दा उनीसहित ८ जनालाई शहरको प्रहरीले ‘हल्ला फैलाएको’ आरोपमा पक्राउ गर्यो ।
कोरोना भाइरसका कारण ती चिकित्सक ली वेनलियाङको शुक्रबार ज्यान गइसकेको छ । महामारीको रुप धारण गर्नुअघि नै यसबारे सार्वजनिक रुपमा खुलासा गर्ने चिकित्सकको ज्यान गइसकेपनि कोरोना भाइरस थामिएको छैन बरु यो विश्वका अन्य क्षेत्रमा समेत फैलिएको छ जुन निरन्तर जारी छ ।
सामाजिक सञ्जालमा मानिसहरु टिप्पणी गरिरहेका छन्, ‘नियन्त्रणबाहिर जानुअघि बेलैमा भाइरसको व्यापक स्तरमा रोकथाम तथा नियन्त्रणको प्रयास गरिनुपथ्र्यो, चीन यहीँ चुकेका कारण कोरोना भाइरस फैलिरहेको छ ।’
हुन पनि चिनियाँ अधिकारीले पहिले भाइरसको गम्भीरतालाई बुझ्न सकेनन । शुरुमा त चिनियाँ अधिकारीले भाइरसविरुद्ध ‘पर्ख र हेर’ को नीति अख्तियार गरेका थिए । समाचारमा जनाइएअनुसार चिनियाँ अधिकारीले जनवरी महिनाको अन्त्यसम्म भाइरसको प्रकोप आफैँ सकिएर जाने अपेक्षा गरेका थिए ।
कोरोना भाइरसले अनियन्त्रित रुप धारण गरिसकेपछि पनि चीनले यसको रोकथाम तथा नियन्त्रणतर्फ भन्दा पनि यसलाई सामान्यीकरण गर्न चाह्यो ।
भाइरसको प्रकोप बढ्दै जाँदा चिनियाँ अधिकारीले कोरोना भाइरसबारे पश्चिमा सञ्चारमाध्यमले मानिसमा डर छर्न भाइरसबारे जथाभावी समाचार छापेको र चीनविरोधी भावना बढाएको आरोप लगाउन पुग्यो ।
भाइरसको प्रकोपविरुद्ध चीनले ढिला गरिमात्र गम्भीर कदम चालेको र त्यसबेलासम्म निकै ढिला भइसकेको टिप्पणी पनि सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
भाइरसका कारण करिब २० जनाको ज्यान लिसकेपछि मात्र चीन सरकारले भाइरस नियन्त्रण प्रयासमा भाइरसको केन्द्रविन्दु रहेको वुहान शहर ठप्प पार्ने, शहरमा यात्रा प्रतिबन्ध लगाउने कठोर कदम चाल्न पुगेको थियो ।
शहर ठप्प पार्ने निर्णय अघिसम्म चिनियाँ नयाँ वर्षको अवसरमा मानिसहरु भोजभतेर र खुशियालीमा रमाइरहेका थिए । नयाँ वर्षको हुलमुलले भाइरस संक्रमणलाई अझ तीब्र बनायो ।
शहर ठप्प पार्ने तथा यात्रा प्रतिबन्ध लगाउने सरकारी घोषणाले मानिसहरु एकाएक आतंकित बन्न पुगे । चीन सरकारले भाइरस नियन्त्रणको कठोर कदम चाल्ने बेलासम्म भाइरस नियन्त्रणबाहिर गइसकेको थियो ।
कोरोना भाइरसले महामारीको रुप लिन थालिसकेपछि भने चीनले नियन्त्रणका लागि १ करोड १० लाख मानिस बसोबास गर्ने चीनको सातौं ठूलो वुहान शहरलाई पूरै ठप्प पारी भाइरस रोकथामको प्रयास गरिरहेको छ ।
यसका लागि दशौं हजार चिकित्सक तथा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ । केही अघिमात्र चीनले ८ दिनमै अस्पताल बनाएर विश्वभर सरहाना नपाएको पनि होइन । तर, कोरोना भाइरसको महामारी नियन्त्रणमा आउनु त परको कुरा यो अझ तीब्र गतिमा बढिरहेको छ भने यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या अनपेक्षित रुपमा बढ्दै नै गइरहेको छ ।
आधिकारिक तथ्याङ्क अनुसार हालसम्म चीनमामात्र कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय १३ नाघिसकेको छ । चीनबाहिर फिलिपिन्समा भाइरसबाट एक जनाको ज्यान गएको पुष्टि भएको छ भने विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ ।
अरु ३५ हजारभन्दा धेरैमा यसको संक्रमण देखिएको छ । तरपनि मानिसहरु अझ आतंकित नहुन् भन्नाका लागि चीनले संक्रमित तथा ज्यान गुमाउनेको सङ्ख्या घटाएर सार्वजनिक गरेको भनेर सामाजिक सञ्जालमा गाईँगुईँ चलिरहेका छन् ।
यसलाई बल पुग्नेगरी चिकित्साक्षेत्रमा प्रतिष्ठित लान्सेट जर्नलले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक अध्ययन प्रतिवेदनमा दुई साताअघिसम्म सरकारी दाबीभन्दा निकै धेरै करिब ७५ हजार ८ सय जनामा कोरोना भाइरसको संक्रमण फैलिएको र एक साताभित्र यो भाइरसको महामारी बेइजिङ र साङ्घाईसम्म पुग्नसक्ने उल्लेख छ ।
शुरुमा भाइरसबारे चिकित्सक ली वेनलियाङले खुलासा गर्दा यसलाई गम्भीर रुपमा लिनु त कता हो कता, उल्टै तिनै चिकित्सकलाई हल्ला फैलाएको आरोपमा पक्राउ गर्नुले जनस्वास्थ्य संकटका लागि चीन कति लापरवाह थियो भन्ने स्पष्ट हुन्छ । यसले आर्थिक रुपमा तीब्र गतिमा अघि बढिरहेपनि रोग तथा संक्रमण रोकथाम र नियन्त्रणको क्षेत्रमा चीनले अझै धेरै उन्नती गर्न बाँकी रहेको सन्देश गएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चीनमा कोरोना भाइरस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्