Techie IT
सोमबार, चैत्र १०,२०८१

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’


ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताउनुभयो । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उहाँले भन्नुभयो ।

मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ह्वील लक’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545