Techie IT
मंगलबार, असार १६,२०८३

टोखा नगरपालिका र पालुङटार बीच भगिनी सम्बन्ध , विकासमा सहकार्य गरिने


गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। दिगो विकासका विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान गर्दै आपसी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ दुवै स्थानीय तहबीच यो सम्बन्ध स्थापित गरिएको हो।

सोमबार आयोजित एक समारोहमा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा आर्थिक विकासलगायतका क्षेत्रमा अनुभव आदानप्रदान, प्राविधिक सहयोग र संस्थागत सहकार्यलाई अघि बढाइनेछ।

पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी का अनुसार जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदानप्रदान र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।

सम्झौताअनुसार पालुङटार नगरपालिका–५ स्थित चारकुने बगैचामा दुवै नगरपालिकाको सहलगानीमा ‘टोखा–पालुङटार मैत्रीपूर्ण पार्क’ निर्माण गरिनेछ। पार्कभित्र खुला व्यायामशाला (ओपन जिम) समेत निर्माण गरिने र त्यसका लागि दुवै नगरपालिकाले लागत साझेदारी गर्ने सहमति भएको छ।

कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटारका रैथाने कृषि उत्पादनलाई टोखामा बजारीकरण गर्ने योजना रहेको बताए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत यो सम्बन्धले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दुवै नगरपालिकाबीच स्थापित भगिनी सम्बन्धले जनस्तरमा आपसी सम्बन्ध अझ सुदृढ बनाउने, विकासका सफल अभ्यासहरू साझेदारी गर्ने तथा साझा समृद्धिको यात्रालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका र पालुङटार बीच भगिनी सम्बन्ध स्थापना


तपाईको कमेन्ट लेख्नुहोस्