नेपाल क्यान्सर अस्पतालले थप १ अर्ब लगानी गरी २०० शय्यासहित रोबोटिक सर्जरी सेवा विस्तार गर्ने
नेपाल क्यान्सर अस्पतालले थप १ अर्ब लगानी गरी २०० शय्यासहित रोबोटिक सर्जरी सेवा विस्तार गर्न
काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले आफ्नो सेवा क्षमता विस्तार तथा अत्याधुनिक प्रविधि भित्र्याउन थप १ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। अस्पतालले आगामी वर्षभित्र शय्या क्षमता दोब्बर बनाउँदै २०० शय्याको अत्याधुनिक क्यान्सर उपचार केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
अस्पतालको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठले हाल सञ्चालनमा रहेको १०० शय्याको अस्पताललाई विस्तार गरी २०० शय्यामा पुर्याइने जानकारी दिए। उनका अनुसार नयाँ लगानीमार्फत रोबोटिक सर्जरी, न्युक्लियर मेडिसिन, पेट–सिटी स्क्यान, क्याथ ल्याबलगायत विश्वस्तरीय स्वास्थ्य प्रविधिहरू अस्पतालमा थप गरिनेछ।
डा. श्रेष्ठले विगत नौ वर्षमा अस्पतालले हजारौं क्यान्सरपीडित नेपालीलाई उपचार र आशा प्रदान गरेको उल्लेख गर्दै आगामी लगानीले अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको क्यान्सर केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। यसबाट नेपाली बिरामीले उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने र नेपाल मेडिकल टुरिज्मको गन्तव्यका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो।
विस्तार योजनाअन्तर्गत अस्पतालको नयाँ भवनमा थप तल्ला निर्माण गरी दुई अत्याधुनिक अपरेसन थिएटर, विशेष पोस्ट–अपरेटिभ वार्ड, सुविधासम्पन्न डिलक्स क्याबिन तथा सघन उपचार कक्ष (आईसीयू) थप गरिनेछ।
प्रविधिगत सुधारअन्तर्गत रोबोटिक सर्जरी, एचआईपीईसी, ईयुएस, ईबीयुएस, उच्चस्तरीय अल्ट्रासोनोग्राफी, पूर्ण चरणको आईएचसी तथा माइक्रोबायोलोजी प्रयोगशाला, डिजिटल पिएसीएस प्रणाली, पेपरलेस एचएमआईएस, समर्पित डायग्नोस्टिक सेन्टर, बोन म्यारो ट्रान्सप्लान्ट तथा सेलुलर थेरापी सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।
अस्पतालले ग्यास्ट्रोइन्टेस्टाइनल रोग तथा श्वासप्रश्वास र छातीसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको जनाएको छ। साथै पोलिक्लिनिक तथा वेलनेस सेन्टर सञ्चालनसँगै नर्सिङ, पारामेडिक्स, एमडी/एमएस तथा फेलोसिपस्तरका शैक्षिक कार्यक्रमहरू पनि विस्तार गरिने योजना रहेको छ।
अस्पतालका अनुसार एक महिनाभित्र एमआरआई सेवा सञ्चालनमा ल्याइनेछ भने डिजिटल पीएसीएस प्रणाली तथा एनएएस सेवा आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी भइरहेको छ।
सन् २०१५ देखि सेवा सञ्चालन गर्दै आएको अस्पतालमा हाल ११० चिकित्सक, २९० नर्स, ९८ प्राविधिकसहित ६१० भन्दा बढी जनशक्ति कार्यरत छन्। बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले क्यान्सरसम्बन्धी जनचेतना अभियान र विशेषज्ञ चिकित्सक उत्पादनका लागि फेलोसिप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
हालसम्म करिब २ अर्ब रुपैयाँ लगानी रहेको अस्पतालमा नयाँ १ अर्ब रुपैयाँ थपिएपछि कुल लगानी ३ अर्ब रुपैयाँ पुग्नेछ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले गुणस्तरीय र विश्वसनीय उपचार सेवाकै कारण नेपाल क्यान्सर अस्पताल देशकै अग्रणी क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भएको बताउँदै थप लगानीले सेवा अझ प्रभावकारी, आधुनिक र सर्वसुलभ बन्ने विश्वास व्यक्त गरे।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्