टोखामा चार दिनसम्म विस्केट जात्रा , बिदासहित नगरपालिकाद्वारा १२ लाख बजेट विनियोजन
काठमाडौँ — ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्व बोकेको टोखामा मनाइने विस्केट (बिस्का) जात्रा यस वर्ष चार दिनसम्म आयोजना गरिने भएको छ।
टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म जात्रा सञ्चालन हुने जानकारी दिएको हो। समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार जात्रालाई व्यवस्थित र मर्यादित बनाउन शान्ति सुरक्षा, स्वयंसेवक परिचालन, पार्किङ, यातायात, बाजागाजा तथा रथ व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ।
चैत मसान्तबाट सुरु हुने यो जात्रा परम्पराअनुसार चार दिनसम्म मनाइन्छ। मसान्तको बिहान भक्तजन शिवपुरीस्थित बागद्वारमा स्नान गर्न जाने र त्यही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिर पुग्ने चलन छ। सपनतीर्थ परिसरमा रहेको सिद्धपोखरीमा नयाँ वर्षको पहिलो दिन बिहान स्नान गर्ने परम्परा रहिआएको छ।
मसान्तको साँझ सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित निकालिन्छन्। नयाँ वर्षको दिन साँझ रथहरू गाउँ परिक्रमा गराइ विभिन्न टोलमा बिसाइन्छ। त्यसपछि दोस्रो र तेस्रो दिन पनि सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन, विभिन्न देवीदेवताका रथ परिक्रमा तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन्।
अन्तिम दिन वैशाख ४ गते सिन्दूरजात्रासहित रथहरू गाउँ परिक्रमा गराई सम्बन्धित मन्दिरमा फर्काइएपछि जात्रा समापन हुन्छ। वैशाख ५ गते बिहान लिङ्गो ढालेर जात्राको विधिवत् विसर्जन गरिन्छ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरभित्रका ऐतिहासिक पर्वलाई उच्च प्राथमिकता दिँदै जात्रा व्यवस्थापनका लागि आवश्यक बजेट छुट्याइएको बताए। जात्राका अवसरमा नगरपालिकाले एक दिन सम्पूर्ण क्षेत्रमा र दुई दिन जात्रा लाग्ने वडा नं. २ र ३ मा सार्वजनिक बिदा दिने जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा चार दिनसम्म विस्केट जात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्