Techie IT
आईतबार, फागुन ३,२०८२

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७७ औँ नियमित साहित्य शृङ्खला वनभोजसहित सम्पन्न


बर्दिबास, माघ २४ ।
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७७ औँ नियमित साहित्य शृङ्खला शनिबार वनभोज कार्यक्रमसँगै सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, कला र संस्कृतिको समिश्रित प्रस्तुति देख्न पाइयो ।

प्रतिष्ठानका सचिव पवन कुमार वाग्लेले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्यसहित आफ्ना सिर्जनाहरू वाचन गरेका थिए । रचना वाचन गर्नेहरूमा कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दाहाल, सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारदप्रसाद काफ्ले, प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल, प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश समितिका सचिव भीमकुमार राउत, अनेलेसका केन्द्रीय सचिव जीवनस्पर्शी, जनता जनता आधारभूत विद्यालय बुद्ध चोकका प्रधानाध्यापक अम्बिका दाहाल, बर्दिबास नेवार समाजका अध्यक्ष धननारायण श्रेष्ठ, जनता माध्यमिक विद्यालय गौरीडाँडाका शिक्षक सौरभ शर्मा, नवसर्जक साहित्य चौतारी मधेश प्रदेशका उपाध्यक्ष प्रतिमा पौडेल तथा प्रलेस बर्दिबास नगर समितिका सहसचिव यादव राज वाग्ले रहेका थिए ।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा कविता, गीत, गजल तथा मुक्तक वाचन गरिएको थियो भने दोस्रो चरणमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । सिर्जना वाचन गर्नेहरूमा नारायण दाहाल, गोविन्द खड्का, जय जोशी, प्रविण पौडेल, पवन वाग्ले, विश्वास अभियान, यशोदा श्रेष्ठ, विपुल विद्रोही, विमला विक र जीवनराज दाहाल रहेका थिए ।

त्यसैगरी नृत्यतर्फ प्रशंसा वाग्ले, मनिषा उराउ, ऐश्वर्य श्रेष्ठ, चन्द्र श्रेष्ठ, समीक्षा भण्डारी, प्रतिष्ठा, विदुषी, ललन, प्रिन्स र पूजा लगायतले दमदार प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यतिर गरिएको सामूहिक नृत्यले सम्पूर्ण कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष यशोदा श्रेष्ठले प्रतिष्ठानको ७७ औँ शृङ्खलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यिक मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् । आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा राख्दै उनले कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिष्ठानको ७७ औँ नियमित साहित्य शृङ्खला बर्दिबास नगरपालिका वडा नं. ३ स्थित दीर्घायु योग भवनको प्राङ्गणमा सम्पन्न भएको हो ।

 

Panchamrit


क्याटेगोरी : banner, bannernews, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #bardibas, #bardibas sahitya


तपाईको कमेन्ट लेख्नुहोस्