Techie IT
शनिबार, माघ ११,२०८२

काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ


काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ मा २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। बहुप्रतिस्पर्धी देखिएको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका प्रकाश श्रेष्ठ, रास्वपाका गणेश पराजुली, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं र नेकपाका वसन्तप्रसाद मानन्धरबीच हुने देखिएको छ।

काठमाडौं–७ अन्तर्गत काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा, नागार्जुन नगरपालिकाका १, २ र ३ नम्बर वडा तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पर्दछन्। यस क्षेत्रमा १७ जना दलबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

एमालेबाट उम्मेदवार बनेका प्रकाश श्रेष्ठ अनुभवी, संगठनमा मजबुत र जनप्रतिनिधिका रूपमा परिचित नेता हुन्। उनी २०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् भने बागमती प्रदेशका पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा एक वर्ष सफल कार्यकाल पूरा गरेका छन्। मन्त्रीका रूपमा उनले कृषक, पशुपालक र सहकारी क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै पार्टीभित्र र बाहिर प्रशंसा पाएका छन्।

प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उत्रिएका श्रेष्ठलाई स्थानीय तहदेखि केन्द्रसम्म बलियो संगठन, अनुभवी कार्यकर्ता र एमालेको स्थिर मताधारको साथ रहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिने श्रेष्ठले लामो राजनीतिक संघर्षपछि टिकट प्राप्त गरेका हुन्, जसले पार्टीभित्र उनको स्वीकार्यता र विश्वास झल्काउँछ।

विगतमा सहयात्री रहेका वसन्तप्रसाद मानन्धरसँगको प्रतिस्पर्धा भए पनि एमालेभित्र निरन्तरता, स्पष्ट राजनीतिक लाइन र विकासमुखी एजेन्डाका कारण प्रकाश श्रेष्ठलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। स्थानीयस्तरमा उनको पहुँच, सक्रियता र निरन्तर जनसम्पर्कले उनलाई मतदाताबीच लोकप्रिय बनाएको छ।

२०७९ को निर्वाचनमा रास्वपाका गणेश पराजुली विजयी भए पनि यसपटक संगठन विस्तार, स्थायित्व र अनुभवी नेतृत्वको खोजीमा रहेका मतदाताहरूको आकर्षण प्रकाश श्रेष्ठतर्फ बढ्दो देखिन्छ। यस्तै कांग्रेसका नयाँ उम्मेदवार प्रमोदहरि गुरागाईं पहिलो पटक चुनावी मैदानमा उत्रिएका कारण संगठनात्मक अनुभव र जनप्रतिनिधिको अभ्यासमा पछि परेको विश्लेषण भइरहेको छ।

यसअघि २०७९ मा यही क्षेत्रबाट एमाले उम्मेदवार श्यामकुमार घिमिरेले प्रतिस्पर्धा गरेका थिए भने २०७४ मा एमालेकै रामवीर मानन्धर विजयी भएका थिए। एमालेको ऐतिहासिक पकड, अनुभवी नेतृत्व र स्पष्ट विकास एजेन्डाका कारण काठमाडौं–७ मा प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।


क्याटेगोरी : राजनीति
ट्याग : #काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै


तपाईको कमेन्ट लेख्नुहोस्