Techie IT
शुक्रबार, जेठ १०,२०८२

बुटवलको ज्यामिरे गाउँ- विकासको नक्सामै थिएन बल्ल पुग्यो दशकौँपछि उज्यालो


रुपन्देही । बुटवल उपमहानगरपालिका भन्नासाथ विकास, सुविधा र पूर्वाधारले सम्पन्न क्षेत्र भन्ने आँकलन गरिन्छ । तर यही उपमहानगरको वडा नम्बर १२ अन्तर्गत पर्ने एउटा बस्ती-ज्यामिरे-जहाँका बासिन्दाले दशकौँसम्म न त बिजुली बत्ती देखे, न त मोटर गुड्ने बाटो । अझ अचम्म त के भने, यहाँका बच्चाहरू आज पनि स्कुल जान डेढ-दुई घण्टा जंगल पार गरेर हिँड्न बाध्य छन् । तर यहीँ बस्तीमा पहिलो पटक उज्यालो बल्दा, गाउँ फर्किने सपना बोकेर बजार झरेका परिवार आशा बोकेर गाउँ फर्किने संकेत दिएका छन् ।

उपमहानगरपालिका बनेसँगै बाटो, बिजुली, स्कुलसहितका भौतिक पूर्वाधारले सम्पन्न भएको क्षेत्र भनेर बुझिन्छ त्यसमाथि तराईको जिल्लामा त त्यो स्वभाविक नै हो । धेरैलाई उपमहानगरपालिकाकै बस्तीमा अहिलेसम्म बिजुली बत्ती, मोटर बाटो नपुगेको र स्कुल पढ्न डेढ दुईघन्टा पैदल हिँडेर जानुपर्ने भनेर विश्वास नलाग्न सक्छ तर दशकौँ पहिलेबाट बस्ती बसेको ज्यामिरेमा अहिलेसम्मको अवस्था यस्तै थियो । यहाँका स्थानीयले पहिलो पटक विद्युतको स्वीच अन गरेर बिजुली बत्ती बाल्न पाएका छन् ।

गतवर्ष पिउने पानीको व्यवस्थापन भएको यहाँ यो वर्ष बिजुली बत्तीको व्यवस्थापन भएपछि स्थानीयको खुसीको सीमा छैन । तामनगर राजपुर खानेपानी आयोजनाले समन्वय गरेर अर्थमन्त्री तथा आफ्नो क्षेत्रका सांसद विष्णुप्रसाद पौडेलको पहलमा पहिलो पटक बत्ती बाल्न पाएको स्थानीय ५७ वर्षीय समर गाहाले बताए । उनका अनुसार मङ्गलवारदेखि यहाँ बत्ती बल्न सुरु भएको हो ।

‘०५८ सालबाट पाल्पाको कोलडाँडाबाट बुवासँग यहाँ आएर बस्न लागेको हुँ, सधैँ मट्टितेलको बत्ती बालेर बसिएको थियो, अहिले पहिलो पटक बिजुली लाइट आफ्नै हातले बाल्न पाइयो, गतवर्ष खानेपानीको धारा जोडियो’ उनले भने- ‘हामी यहाँ १४ घर थियौँ, यस्तै सबै असुविधाले अहिले ६ घरमा मात्रै परिवारसहित बसेका छौँ, अब यस्तो सुविधा आएपछि यहाँ घर र जग्गा भएकाहरू आउने कुरा भइसकेको छ,’ उनले भने, ‘अब यहाँ बालबालिका पढाउनका लागि मुख्य समस्या छ, बाटो पनि भनेजस्तो राम्रो छैन, विद्यार्थी थोरै भएपछि ठूलो स्कुलको कुरा हामीले गरेका छैनौँ, आधारभूत पढाउने केही व्यवस्था भए यहाँ छोडेकाहरू सबै फर्कने थिए ।’

पूर्व-पश्चिम राजमार्ग अन्तरगत तामनगरदेखि करिब ६ किलोमिटर उत्तरतर्फ जङ्गलको बीचमा रहेको ज्यामिरे गाउँ बुटवलकै वडा नं १२ मा पर्दछ । यहाँ लालपूर्जा भएको र नभएको गरी करिब १५ विगाह जग्गामा स्थानीयले खेती गरेर बसेको दशकौँ भइसकेको छ । सबै मगर बस्ती रहेकोमा अहिले यहाँ दुई घर्ती परिवार पनि थपिएका छन् ।

सानो बस्ती, जङ्गलले घेरिएको ठाउँ सधैँ अँध्यारोमा बस्नुपर्दा जङ्गली जनावरबाट आक्रमण हुने डरसँगै बालबालिकाहरूलाई साँझविहान पढ्नका लागि पनि समस्या, गाउँको दैनिकी नै अन्धकारमा बित्दै आएको गाहाले बताए । गाउँमा बत्ती पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

 

गाउँमा बिजुली बत्ती नहुँदा त्यहाँका स्थानीय मोबाइल फोनको ब्याट्री चार्ज गर्नका लागि मात्रै डेढ घण्टा लामो समय पैदलयात्रा गरेर तामनगर, बनकट्टा क्षेत्रमा आउनुपर्ने बाध्यता थियो । बिजुली घरमै पुगेपछि अब उक्त समस्या पनि अन्त्य भएको बताउँदै स्थानीय नन्दबहादुर गाहाले बताए। ‘पहिला हामीलाई धेरै समस्या थियो, मोबाइल चार्ज गर्न पनि दिन बिताएर बजार बस्नुपर्थ्यो । अब घरमै मोबाइल चार्ज गर्न पाइने भयो’(नन्दबहादुरले भने, बिजुली बत्ती गाउँमा आएपछि अब कुखुरा पालन, खेती किसानी सबैका लागि सहज हुने भयो । जे होस् गाउँमा नसोचेको विकास भयो, यसले धेरै खुसी लागेको छ ।’

गाउँमा बत्ती ल्याउन भूमिका खेलेको भन्दै उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिएका छन् । पौडेल समक्ष आफूहरूले गुनासो सुनाएपछि चासोका साथ आफ्नो मागलाई सम्बोधन गरिएको भन्दै उनले सरकारको अनुभूति बल्ल गर्न पाइएको उल्लेख गरे ।

स्थानीय सुमित्रा गाहाको घरमा बत्ती बालेर उज्यालो ज्यामिरे घोषणा गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेले अब रुपन्देहीमा कुनै पनि गाउँ विद्युत सेवाबाट वञ्चित नभएको जनाएका छन्। ज्यामिरेका ६ वटा घरमा बत्ती बालिएको बताउँदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको उल्लेख गरे । ८६ वटा विद्युत पोलमार्फत बजारबाट ५ किलोमिटरमा कालोतारबाट गाउँमा बिजुली पुर्‍याउने काम भएको बताउँदै उनले यसका लागि निर्माण कम्पनीले समेत समयमै काम सम्पन्न गरेर साथ दिएको उल्लेख गरे ।

 

निर्माण कम्पनी सुष्मा एन्ड सृष्टि कम्पनीका सञ्चालक लेखबहादुर कार्कीले व्यावसायिक घाटा नाफाको कुरा भन्दा पनि गाउँमा पहिलो पटक बत्ती बाल्न पाउनु नै खुसीको कुरा भएको उल्लेख गरे । बाटोको लम्बाई करिब ७ किमी भए पनि धेरै भए पनि तारको लम्बाई ५ किलोमिटरले पुगेको छ । लामो जङ्गल हुँदै प्रशारण लाइन बिस्तार निकै चुनौतीपूर्ण भए पनि काम सुरु गरेको करिब २ महिनाभित्र बत्ती बाल्न सफल भएको उनले जानकारी दिए ।

ज्यामिरेमा बत्ती पुर्‍याउनका लागि सक्रिय रूपमा लागेका तामनगर राजपूत खानेपानी संस्थाका अध्यक्ष धनबहादुर राहादीले अब गाउँमा विजुलीको प्रयोग गरी पेशा व्यवसाय गरी आर्थिक क्रियाकलापमा लाग्न सहज हुने र त्यहाँ घरजग्गा रहेर अहिले बाहिर भाडामा बसेकाहरू अब फर्किन सजिलो भएको बताए । तामनगर निवासी उनले ज्यामिरेलाई आफ्नै गाउँ र आफ्नै उपभोक्ता सम्झिएर सिँचाइ, खानेपानी लगायतका काममा समेत खानेपानी संस्थाबाट सहयोग गर्दै आएको बताए । विद्युतसँगै गाउँमा पुग्ने सडक पूर्वाधार नहुँदा गाउँमा युवाहरू नबसेर सुनसान हुँदै गएको ज्यामिरे अब व्यवस्थित बन्दै जाने उनको अपेक्षा छ ।

ज्यामिरेमा अहिले ६ घरपरिवार मात्रै पूर्णरुपमा बस्ने भएकाले ६ घरमा मात्रै विद्युतको मिटरबक्स जोडिएको छ । यहाँ नन्दबहादुर गाहा, समर गाहा, रनबहादुर गाहा, सुमित्रा गाहा, जंगबहादुर घर्ती र देव घर्तीका घरहरूमा मिटर बक्स जोडिएको हो । यहाँ घर रहेका कर्णबहादुर गाहा, ईश्वरी गाहा, नरबहादुर गाहासहितका स्थानीय बच्चाबच्ची पढाउनका लागि बजार क्षेत्रमा डेरा गरी बसेका छन् ।

ज्यामिरेका सबै परिवारको संख्या ३५ जना भए पनि केहीले बच्चा पढाउन बजारमा भाडामा बस्नुपरेको छ । गाउँमा सबै सेवाहरू पुगेपछि अब गाउँ छाडेकाहरू फर्कने तयारीमा रहेको तामनगर राजपूत खानेपानी संस्थाका अध्यक्ष धनबहादुर राहादी बताउँछन् । ‘अहिले पनि यहाँका बच्चालाई स्कुल पठाउन बिहानै ८ बजे तयार गरेर पढाउने हो, पानी आए विद्यालय जान सम्भव हुँदैन, बाटोमा जङ्गल छ, डेढ घण्टा हिँडेर बच्चालाई स्कुल पठाउन समस्या भएर स्थानीयले बस्ती छाडेका हुन्, उपमहानगर भनेर भएन, विकास नभएपछि के गर्ने’ उनले भने ।

 

समर गाहाका अनुसार अहिले यहाँबाट स्कुल जाने बच्चाहरू घटेर २ जना मात्रै भएका छन् तर पनि बुधवार बिहानैबाट पानी परेपछि उनीहरूलाई पठाउन सकिएन । ‘सरस्वती स्कुलमा पठाउनुको विकल्प छैन, डेढ दुईघन्टा हिँडाएर बच्चा पढाउन समस्या भएर धेरैले छाडेका हुन्’ उनले भने, ‘अब पानी र बिजुली भयो, बाटो पनि मोटरसाइकल, साना गाडी आउनेजस्तो भएको छ, अब स्कुलको कुनै व्यवस्था भए यहाँका सबै घर भरिने थिए ।’

ज्यामिरे टोल उपमहानगरपालिकामा रहे पनि विकटको बस्ती बनेको थियो । कृषि खेती र बाख्रा पालनको राम्रो सम्भावना भएको यो गाउँ वरिपरि जङ्गल र खोस्लाले घेरिएर रहेको छ। त्यो बस्तीको सुरक्षा र स्थानान्तरणका बारेमा यसअघिका जनप्रतिनिधिले चासो दिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ती घर परिवारले आफूहरूको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधिसमक्ष उचित व्यवस्थापनको माग पटक पटक गर्दै आएका थिए ।

कृषि उद्यम र पशुपालनको प्रचुर सम्भावना रहेको र त्यसका लागि विद्युत, यातायात र खानेपानीको व्यवस्था पहिलो प्राथमिकता रहेकाले अब यसको व्यवस्थापन भए पनि स्थानीय हौसिएका छन् । ‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रूपमा विकास गर्न सकिन्छ, कृषि र पशुपालनका सम्भावनाका बारेमा पनि थप छलफल आवश्यक छ’ खानेपानीका अध्यक्ष जितबहादुर राहडीले भने, स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइनुपर्दछ । नयाँ परिवार पनि यहाँको हावापानीले अब जानसक्ने वातावरण भएको छ ।’ स्थानीयहरू अहिले बाख्रा पालन र भूइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेशा कृषि र पशुपालन नै रहेको छ ।

स्थानीयहरूले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बाल कक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिँचाइको व्यवस्था मिलाइदिन धेरै वर्षदेखि आग्रह गर्दै आएकोमा बल्ल केही माग पूरा भएको बताउँछन् । तर, त्यहाँका युवाहरूले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका थिए ।

उनीहरूका अभिभावकहरूले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या वर्षेनी बढ्दो रहेको भन्दै व्यवस्था मिलाउन आग्रह गरेका थिए । जंगलमा दैनिक डढ घण्टा हिँडेर पढ्न जाने बालबालिकाहरूको सुरक्षा र वैकल्पिक व्यवस्था पहिलो प्राथमिकतामा, बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नुपर्ने अबको माग रहेको उनीहरूको भनाइ छ । यो गाउँबाट अहिले दुई जना विद्यार्थीहरू दैनिक दुई घण्टा हिँडेर तल तामनगर नजिकमा रहेको सरस्वती माविमा अध्ययन गर्न जाने आउने गर्दछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुटवलको ज्यामिरे गाउँ- विकासको नक्सामै थिएन बल्ल पुग्यो दशकौँपछि उज्यालो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:09 am6:52 pm +0545