कर्णाली प्रदेश सरकार र प्रतिपक्षि एमालेबीच चार बुँदे सहमति
वीरेन्द्रनगर । दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चार बुँदे सहमति भएको छ ।
गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ ।
कर्णाली सरकार र प्रतिपक्षी एमालेबीच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ ।
सर्वदलीय बैठकले चार बुँदे सहमति गरेको हो । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमाथि प्रतिपक्षी एमालेले आपत्ति जनाएपछि प्रदेशसभाको बैठक दुई सातायता अवरुद्ध हुँदै आएको थियो ।
बजेट छलफलका क्रममा असार १२ गतेदेखि एमालेले प्रदेशसभा अवरुद्ध गरेको थियो । पटक—पटक सर्वदलीय बैठक बसे पनि विवाद समाधान हुन सकेको थिएन । शुक्रवारदेखि भने संसद् बैठक सञ्चालन भएको छ ।
सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेको हो ।
चार बुँदे सहमतिमा रु १५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका साना सिँचाइबाहेक अन्य नयाँ योजना कार्यान्वयन नगर्ने सहमति भएको छ ।
यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने सहमति भएको छ ।
त्यसैगरी ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ को सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट रूपमा फिर्ता लिने सहमति भएको छ । त्यो शीर्षकमा विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरू छनोट गरिसक्नुपर्ने भनिएको छ ।
त्यस्तै, रातो किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने सहमति भएको छ । सहमति भएसँगै बजेटमाथिको दफावार छलफलको बाटो खुलेको हो ।
एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूले उठाएका मुद्दामा सहमति जुटेपछि बैठक सञ्चालन भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले सर्वदलीय सहमतिपछिको प्रदेशसभा बैठकमा सरकारले विगतका सहमति कार्यान्वयन नगरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको बताउनुभयो । सरकारसँग सहमति भएता पनि कार्यान्वयनमा भने आशङ्का र अविश्वास गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
अहिले भएका सहमति साझा धारणाका आधारमा आएकाले सरकारले विगतको जस्तो प्रवृत्ति नदोहोर्याउन सरकारलाई सचेत गराउनुभयो ।
गत वर्ष पनि लामो समय प्रदेशसभा अवरोध गरेको प्रतिपक्ष दल एमाले र सरकारबीच सात बुँदे सहमति भएको थियो । सो सहमतिसमेत कार्यान्वयन नभएको भन्दै यसअघि देखि नै पटक पटक सदन अवरुद्ध हुँदै आएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने मुख्यमन्त्री रोजगार कार्यक्रममा खासै समस्या नरहेको बताउनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेशसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्