विश्वमै दुर्लभ ‘किङ कोब्रा’ कास्कीमा भेटिएपछि संरक्षण शुरु
जिल्लाको माछापुच्छ गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् ।
काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताउनुभयो ।
सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताउनुभयो ।
यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् । “अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ”, संरक्षण अधिकृत बरालले भन्नुभयो, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौँ ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ ।
यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ । किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ ।
कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो ।
यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार ५०० सम्मको उचाइमा पाइने गरेको बताइन्छ ।
यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उहाँले बताउनुभयो ।
सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिनुभयो । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उहाँको भनाइ छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्