Techie IT
आईतबार, वैशाख २१,२०८२

कोरोनाले वैदेशिक रोजगारमा पारेको प्रभाव


राधेश्याम तिमलसिना ( पुकार )

मेरो गाउँमा लकडाउन अघि केही दाईहरु वैदेशिक रोजगारबाट छुट्टिमा घर फर्किए । उनीहरु विभिन्न देशबाट फर्किएका थिए । जसमध्ये एक जना मलेशियाबाट आएका थिए । उनको करिब १ महिनाको विदा थियो । उनी गत फागुनको दोस्रो हप्तातिर आएका थिए । उनको लगभग जाने बेलामै नेपाल सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै लकडाउनको घोषणा गर्यो । त्यसपछिको एक महिना त सबैको लागि खुशीकै क्षण बनेँ । किनकी घर परिवारसँग यसरी समय बिताएको क्षणहरु कमै थिए उनको लागि र उनीजस्तै धेरैका लागि । तर जब जब लकडाउनको अवधि बढ्दै गयो, अन्तर्राष्ट्रिय उडान तथा नाका बन्द हुँदै गयो ।

उनी अब झन् झन् तनावमा र छटपटीमा रहन थाले । त्यसको विशेष कारण थियो । किनकी उनको भिषाको म्याद सकिन लागेको थियो । फलस्वरुप नेपालमा कोरोनाको संक्रमण तीव्रतर गतिमा फैलन थाल्यो । तब सबैले आफू स्वस्थ रहनु नै सबैभन्दा ठूलो कुरा बन्यो । ति दाइको पनि उता मलेशियामा भिषाको म्याद सकियो । अहिले उनी निकै तनावमा छन् । किनकी यहाँ उनले केही गरेको खास अनुभव छैन । र उनीसँग घर व्यवहारको ऋण रहेको छ । कसरी त्यो पैसा तिर्ने भन्ने एउटा तनाव त कहिले वैदेशिक रोजगार खुल्छ भन्ने अर्काे तनाव । अहिले उनी अर्काे देश कसरी कहिले जान पाइएला भनेर प्रक्रिया अगाडी बढाउन थालेका छन् ।

यता सरकारले भने कात्तिक मसान्तसम्म नै नियमित अन्तर्राष्ट्रिय उडान एवम् सीमा नाका नखोल्ने जनाएको छ । माथिको प्रसंग नेपालका अहिलको एक जल्दोबल्दो यथार्थ प्रसंग हो ।
वैदेशिक रोजगारीले नै नेपालीको जीवनस्तर उकास्न ठूलो भूमिका निर्वाह गरेको छ । लकडाउनकै अवधिमा समेत रेमिट्यान्सको मात्रामा उति धेरै गिरावट आएको छैन ।
लकडाउन अघि छुट्टिमा नेपाल फर्किएकाहरुको यस्तै किसिमको व्यथा सुन्न र देख्न थालिएको छ । त्यस्तै, कोभिडको कारणले वैदेशिक रोजगारलाई चुनौती दिइएको छ ।

त्यस्तै, अर्का एक जनाले भने वैदेशिक रोजगारबाट फर्किसकेपछि गाउँमै सानो लगानीमा खुद्रा पसल व्यवसाय सुरु गरे । जसबाट के भन्न सकिन्छ भने कतिलाई स्वरोजगार बन्न पनि कोभिडको प्रभावले उत्प्रेरित गरेको छ । यो आफैँमा एक सकारात्मक हो ।

देशमा उचित रोजगारीका अवसरहरु विद्यमान नहुँदा मानिसले केही समय विदेशमा गएर आफ्नो श्रम र क्षमताको सदुपयोगले केही आर्थिक उपार्जन गर्नु राम्रो कुरा हो । तर कोरोना त्रासले गर्दा यो सबै कठीन हुन पुगेको छ ।
कोरियाले नेपाली कामदार लैजानबारे निरन्तरता दिने सम्झौता गरेपनि कहिलेदेखि कसरी प्रक्रिया अघि बढाउने भन्नेबारे यकिन छैन । उता खाडीका अधिकांश मुलुकहरुले नेपालमा पछिल्लो समय देखिएको संक्रमणलाई हेरेर तत्काल नेपाली कामदार मगाउनेबारे कुनै ठोस प्रस्ताव गरेका छैनन् । यसरी नेपालीका लागि एउटा निकै ठूलो वैदेशिक रोजगारीको अवसरका रुपमा रहेको खाडी मुलुकमा पनि तत्कालै कुनै रोजगारीको अवसर खुला गरिएको छैन । जसले गर्दा त्यसमा आश्रित परिवारलाई आर्थिक कठिनाई पर्ने त छदैँछ साथै नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको रेमिट्यान्सको दर समेत घटाउने पक्का छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा कमी आउनु वा गुम्नुले मानिसहरु घरमै बसेका छन् । उर्वर जनशक्ति घरमै बस्नुले जनसंख्या बढाउन पनि प्रमु्ख भूमिका निर्वाह गर्दछ । जुन थप नयाँ चुनौतीका रुपमा परिवारमा र राज्यमा पनि पर्दछ । किनकी धेरै सन्तानको रेखदेख निकै चूनौतीपूर्ण हुने गर्दछ भने देशलाई पनि भार थपिन्छ ।

वैदेशिक रोजगारीमा कमीले परिवारबीच एक आपसमा सुमधुर सम्बन्ध स्थापित गर्न सघाउँछ भने अर्काेतिर दैनिक आवश्यकताहरु पूरा हुन नसक्दा झन अप्ठ्यारो स्थितिको सिर्जना गर्दछ ।
यसरी कोरोनाभाइरस संक्रमण प्रभावले चौतर्फी क्षेत्रमा असर गरिरहेका बेला वैदेशिक रोजगारी पनि अछुतो रहेन । जसबाट लाखौँ युवाहरुले रोजगारी गुमाउने जोखिमले उनीहरुमा आश्रित परिवारमा समेत भविष्यको अनिश्चितता तथा आवश्यकताहरु पूरा गर्न कठीनाई उत्पन्न हुने देखिएको छ । तसर्थ अबको नीति एवम् कार्य भनेको सरकारले स्वरोजगार तथा स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नु रहेको छ ।

जसमा सम्भावित क्षेत्रहरुको पहिचान गरेर तत्कालै रोजगारी सिर्जना गर्न सकिने स्थितिको खोज अनुसन्धान गरेर अघि बढ्नु टड्कारो आवश्यकता रहेको छ । त्यस्तै, विदेशमा सिकेका ज्ञान सीपको उचित सदुपयोग गर्नको निम्ति विशेष वातावरण तयार गर्नु पनि सरोकारवाला निकायको दायित्व हुन आउँछ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #कोरोनाले वैदेशिक रोजगारमा पारेको प्रभाव, #राधेश्याम तिमलसिना ( पुकार )


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545