Techie IT
बिहीबार, वैशाख २५,२०८२

गल्याङ नगरवासीले मेरो विश्वास गरेका छन् : नगरप्रमुख अधिकारी


काठमाडौं । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले आफ्नो कार्यकालमा जनताका पक्षमा धेरै राम्रा काम गरेको दाबी गरेका छन् । उनले जनताको भावनाअनुसार नै आफूले विकास निर्माणका योजनालाई अघि बढाएकाले कोही पनि असन्तुष्ट नभएको दाबी गरेका हुन् ।

उनले आफू लामो समयदेखि राजनीतिसँगै सामाजिक सेवामा लागेकाले जनताको हरेक सुख दुःख शुखबारे जानकार भएको बताउँदै आएका छन् । सहकारी आन्दोलनका अगुवाका रुपमा ख्याती कमाएका उनी २३ वर्षसम्म एक माध्यमिक विद्यालयको प्रधानाध्यापक भए । प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिएका अधिकारीले सम्मानजनक मत ल्याएर नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

‘मलाई नगरवासीले मतदान नगर्ने कुनै कारण छैन, जुनसुकै क्षेत्रमा पनि आमूल परिवर्तन गरिदिएको छु’, मेयर अधिकारीले भने, ‘सकेसम्म गरेको छु, अझै विकास कम भयो, हामीलाई बढी चाहियो भन्ने माग गर्नुभएको छ ।’ उनी एमालेको तर्फबाट मेयरमा विजयी भएका हुन् । पार्टीले पुनः टिकट दिएमा पहिलेको भन्दा बढी मत ल्याएर विजयी हुने उनले दाबी गरे ।

अधिकारीले विगतका दिनमा नगरवासीका लागि बाहिर बसेर धेरै काम नगर्दा पनि त्यती मत ल्याएको र अहिले आएर प्रतक्ष्य रुपमा जनताको घरदैलोमा गएर काम गरेकाले मत बढ्ने विश्वास व्यक्त गरे । आफू शिक्षा क्षेत्रबाट नै आएकाले सामुदायिक विद्यालयको शिक्षालाई कसरी गुणस्तरीय र व्यवस्थित बनाउनुपर्छ भन्ने थाहा छ भन्ने उनी कृषि क्षेत्रमा पनि सुधार गरेको उनको भनाइ छ ।

नगरपालिकाले कृषकका लागि योजना दिएको र आवश्यक लगानीसमेत गरेको उनले जिकिर गरे । उनले युवायुवतीले गाउँमै रोजगार र अवसर पाएकाले विदेशिनुपर्ने अवस्थाको समेत अन्त्य हुँदै गरेको उनले बताए । ‘म अब उठ्दिन भन्दा पनि नगरवासीले मलाई छोड्दैनन्, मेरो कामको सम्मान हो यो, नगरवासीलाई अझै विकास चाहिएको छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानीका साथै हरेक क्षेत्रमा देखिने गरी उल्लेखनीय काम गरेको छु ।’

उनले केही विरोधीहरुले आफ्नो कामको विरोध गरेको हुन सक्ने बताए । ‘कोही विकास नै चाहँदैन, पुरानै अवस्थामा बस्न खोज्छ भने मेरो भन्नु केही छैन’, उनले थपे, ‘कसैले पनि औँलो नठड्याउने गरी काम भएको छ त्यसमा ढुक्क भए हुन्छ ।’ उनले स्थानीय तहलाई सरकराले पर्याप्त मात्रामा बजेट नदिँदा धेरै योजना भनेजस्तो गरी सम्पन्न गर्न नपाएको गुनासो समेत गरे । नगरवासीको चाहना र आवश्यकता धेरै भएकाले प्रशस्तै मात्रामा बजेट विनियोजन गर्न पनि उनले सरकारसँग माग गरे ।


क्याटेगोरी : विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545