काठमाडौं । सदस्यता लिन असहज भएको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एपमार्फत सदस्यता आह्वान गरेको छ ।
सरकारको निर्देशनबमोजिम मोबाइलको प्ले स्टोरबाट ‘एनआरसीएस’ (NRCS) एप डाउनलोड गरी सदस्यता लिन सकिने व्यवस्था मिलाइएको रेडक्रसले जनाएको छ । यस्तै, पुराना सदस्यहरूले समेत यही एपमार्फत आफ्नो सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने छ ।
अब सदस्यता लिन रेडक्रसका कार्यालयहरू धाइरहनुपर्ने बाध्यता हटेको अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए । उनले भने, ‘मोबाइलबाटै सीधै सदस्यता फारम भरेर तोकिएका सर्त पूरा गरी एपमार्फत डिजिटल परिचयपत्र तथा प्रमाणपत्रसमेत प्राप्त गर्न सकिनेछ ।’
नेपाल रेडक्रसको सदस्यता वितरणमा सिन्डिकेट रहेको भनी सरोकारवालाहरूले लामो समयदेखि प्रश्न उठाउँदै आएका थिए । डा. भण्डारीको नेतृत्वमा समिति बनेपछि सरकारले सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन तत्काल एप बनाउने कार्यसर्त दिएको थियो ।
नेपाल रेडक्रसमा १२ लाखभन्दा बढी सदस्य रहेको बताइन्छ । ती सबै सदस्यले अनलाइनमार्फत आफ्नो सदस्यता अद्यावधिक गरेपछि मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।
डा. भण्डारीको समितिले सरकारको निर्देशनबमोजिम रेडक्रसको रूपान्तरण र पुस्तान्तरण हुने गरी संशोधन गरेको विधानविरुद्धको मुद्दा भने हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

