काठमाडौं। कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘सारथी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।
म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश, जनजीवन र मानवीय संवेदनालाई समेटिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी सम्बन्ध, संघर्ष र जिम्मेवारीलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेत्री निरुता सिंहले प्रस्तुत गरेको भावनात्मक कवितावाचन र ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने पंक्तिले विशेष ध्यान खिच्छ। चलचित्रको शीर्षकलाई समेत अर्थपूर्ण बनाउने यो संवादले सम्बन्ध, साथ र आत्मीयताको भावलाई उजागर गरेको छ।
लामो समयपछि नेपाली पर्दामा एकसाथ देखिन लागेका अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको पुनरागमनले पनि चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ। उत्तम प्रधानसँगै नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमय शैलीमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तुबारे थप कौतूहल सिर्जना गर्छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।चलचित्रको लाइन प्रोड्युसर अमिर केसी हुन्।
‘सारथी’ आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।

