Techie IT
बुधबार, वैशाख २४,२०८२

माओबादी लिम्चुङ्गबुङ्गमा पहिरो, चर्चित नेता होम किराँती सहित २ सय ३० जना एमालेमा प्रवेश


उदयपुर । नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य वखतराम किराँती र जिल्लाका चर्चित नेता होम किराँती अन्ततः नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शनिबार मात्र आफ्नो फेसवुक पेजबाट पार्टी परित्याग गरेको सन्देश प्रवाह गर्नुभएका होम किराँतीसहितका नेताहरु आईतबार एमालेमा प्रवेश गर्नुभएको हो । बखतराम विगत २५ बर्ष र होम १७ बर्षदेखि पार्टीमा आवद्द भई जिम्वेवारीर्पुक काम गर्दै आएका नेता हुन् ।

माओबादी पार्टीभित्र मौलाउँदै गएको चरमगुटबन्दी, असमानता, विभेद्पूर्ण व्यवहार, नाताबाद कृपाबादबाट वाक्क भएर पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु परेको उहाँहरुले बताउनु भएको छ । कार्यक्रममा माओबादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी गरी २ सय ३० नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका स्थानीय युवा नेता राजकुमार राईका अनुसार किराँती पार्टीका विभिन्न जनवर्गिय संगठनका १ सय ५० जना नेता, ५६ जना संगठित सदस्य गरी २ सय ६ जना प्रवेश गरेका हुन् । त्यसैगरी नेपाली काँग्रेस लिम्चुङ्गबुङ्ग गाउँपालिका वडानं २ का सचिव कमान चाम्लिङ्ग राईको नेतृत्वमा १५ जना र स्थानीय तहको निर्वाचनमा वडामा जसपाका उम्मेदवार बनेका बाबुराम राईको नेतृत्वमा ९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाँले बताउनु भयो ।

उहाँहरुलाई एमालेका प्रदेश कमिटी उपसचिब शैलेश लामा, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य २ का उम्मेदवार अम्वरबहादुर रायमाझी, पुर्वमन्त्री कला घले, प्रदेश कमिटी सदस्यद्धय डा. भेषराज थापा, प्रदेश क का उम्मेदवार देवराज राई, पार्टी अध्यक्ष परमेश्वर घिमिरे, उपसचिब टेकबहादुर राउत लगायतका जिल्ला कमिटीका नेताहरुले स्वागत गरेका हुन् ।

जनयुद्धकालिन कार्यकर्ताको रुपमा स्थापित होम किराँती पार्टी भित्रकै विभेद्का कारण छोड्न बाध्य भएको बताउनु भयो । एकदिन अघि मात्र उनले आफ्नो फेसवुक पेजबाट पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । लगत्तै उहाँ एमालेमा समाहित हुनुभएको हो ।

आफ्ना शुभचिन्तक, शुभेच्छुक र समर्थक प्रति सान्त्वना दिँदै उनले फेसवुक पेजमा लेखेका छन्, ‘श्रदेय दाजुभाई तथा दिदिबहिनीहरुमा मुटुमाथि ढुंगा राखेर यो कुरा अबगत जाहेर गर्न चाहन्छौं कि आज हामी पार्टीका जिम्मेवार कम्रेडहरुले अत्यन्तै निर्मम र कठोर निर्णय गर्ने कठिन परिस्थितिमा उभिएका छौं कि करिब १७ बर्षे राजनीतिक जीवन यात्रालाई पुर्ण बिराम लगाउदै थाती राख्ने निर्णय गरेका छौ ।’

त्यसअघि उहाँले लेखेका छन्, ‘माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरुमा बिकारालरुपमा पलाएको कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, ब्यक्तिबाद, नाताबाद, कृपाबाद, परिवारवाद र अबसरबाद एबम कुहिएको बिकृत पुँजीवादी सोच, चिन्तन,कार्यशैली र प्रवृत्ति प्रती घोर बिमती राख्दछौ । उहाँले भन्नुभएको छ, ‘अब माओवादी पार्टी जनताको पार्टी बन्न नसक्ने निस्कर्षसहित आजको मिति र तत्काल अहिलेबाट कार्यान्वयन हुने गरी पार्टीबाट सदाका लागि अलग हुने गरी स्वैच्छिक एबम सामुहिकरुपमा पार्टी परित्याग गरेका छौ ।’

 

र, अन्तममा लेखेका छन्, ‘माओवादी पार्टीको राजनीतिक जीबनमा माया, प्रेम, सद्भाव, सहयोग र उर्जा दिनु हुने, राजनीतिक शिक्षा र दीक्षा दिई प्रशिक्षित गर्नु हुने श्रदय अग्रज एबम दिग्गज नेतागणहरु प्रति राजनितिक आस्था र बिचार फरक भएपनी सदैब उच्च सम्मान रहने छ र राजनीतिक जीबनमा अबिस्मरणियरुपमा सम्झिरहने छौ, साथै उहाँरुको उज्वल राजनीतिक भबिस्यको लागि शुभकामना पनि ब्यक्त गर्ने छौ ।’

पार्टी प्रवेश कार्यक्रममा पनि नेता किराँतले सोही कुरा दोहोर्याउँदै अव मुलुक समृद्ध एमालेबाट मात्र सम्भव रहेको बताएका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले पहिलो शक्तिकोरुपमा उदाउने देखिएकाले सबै पंक्षलाई सहयोगको अपेक्षा गर्नुभयो । १७ बर्षदेखि निरन्तर पार्टीमा कृयाशिल राई दुई वटै स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो । सालिन तथा प्रष्टवक्ताको रुपमा परिचित किराँती पार्टी भित्र मौलाउँदै गरेको गुटको विपक्षीमा उभिँदा टिकट पाउन सकेका थिएनन् ।

दुबै किराँती नेताहरुको प्रवेशले एमाले लिम्चुङ्गबुङ्गमा थप मजवुद बनेको गाउँपालिका कमिटीका अध्यक्ष भलराज राईले बताउनु भयो । उहाँले जनता प्रति एमालेको बढ्दो आकर्षणको कारण गाउँघरमा एमाले प्रवेशको लहर बढ्दै गएको बताउनु भयो ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा झिनो मतले विजयी भएका गठबन्धनका उम्मेदवारका लागि किराँती द्धयको पार्टी परित्यागले ठुलो क्षति पुर्याएको राजनीतिक वृतमा चर्चा छ । त्यसमा पनि माओबादीको ठुलो शक्ति एमालेमा प्रवेशले माओबादी कमजोर बनेको आँकलन छ ।

पाँच दलीय गठबन्धनसँगै एक्लै स्थानीय तहको निर्वाचनमा होमिएको एमाले झिनो मतले पराजित भएको थियो । कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै नेताहरुले मुलुकको समृद्धीका लागि एमालेमा गोलबन्दी हुन् आग्रह गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #चर्चित नेता होम किराँती सहित २ सय ३० जना एमालेमा प्रवेश, #माओबादी लिम्चुङ्गबुङ्गमा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:18 am6:42 pm +0545