आगामी निर्वाचनमा बहुमत ल्याउँछौंः उपमहासचिव गुरुङ

मनाङ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार चामेमा सम्बोधन गर्दै पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ तयारी गरिरहेको बताउनुभयो ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट बृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि सारेको बताउनुभयो । यो अभियान सफल बनाएर पार्टीले बहुमत प्राप्त गर्ने गरी अगाडि बढेको बताउनुभयो ।
विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी रहेको उहाँको भनाई छ । ‘गठबन्धनभित्र विश्वासको कमी छ । कुन बाटो जाने भन्नेमा अलमल छ । नेपाली जनताले त्यस्तालाई विश्वास गर्दैनन् । उनीहरूको जित्ने आधार नै छैन’ उहाँले भन्नुभयो, ‘ देश बनाउने मार्गचित्र, विचार, संगठन एमालेसँग मात्र छ । यसपटकको निर्वाचन बहुमतका साथ जित्नेमा हामी ढुक्क छौं ।’
अहिलेसम्म गठबन्धनले प्रधानमन्त्रीको रुपमा कसलाई अघि सार्ने भन्ने टुङ्ग्याउन नसकेकाले यसले गठबन्धनप्रति प्रश्न उठेको बताउनुभयो । नेता गुरुङले एमालेले पार्टीको स्थायी कमिटी, सचिवालय, पोलिटब्युरो, केन्द्रीय कमिटीको बैठक बसेर निर्वाचनको तयारी थालेको बताउनुभयो । बैठकले उम्मेदवारहरू सिफारिस गरी पठाउन समय दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘यसपटक हामीलाई चुनौती त पक्कै छ । नेपालमा भएका सर्प, विच्छी, भ्यागुता जस्ता दलहरू हामी विरुद्ध लागेका छन् । हामीसँग डराएर एकठाउँमा जम्मा भएका छन् । अब हामी सबैलाई हराएर छाड्नेछौं । त्यही तयारीमा पार्टी लागेको छ ।’
स्थानीय तह निर्वाचनमा पनि एमाले एक्लै लड्दा सबैभन्दा ठूलो र बलियो पार्टी बनेको र अब पनि जनताले एमाले नै छान्ने बताउनुभयो । उहाँले पार्टीको विचार, नीति राम्रो रहेको र अझ निखारेर जानुपर्ने बताउनुभयो ।
नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य, मनाङ इन्चार्ज, लमजुङ सह–इन्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति मनाङका अध्यक्ष चिनबहादुर घलेलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य छिरिङ लोप्साङ गुरुङले स्वागत र जिल्ला कमिटी सदस्य राजन गुरुङले सञ्चालन गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #आगामी निर्वाचनमा बहुमत ल्याउँछौंः गुरुङ, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्