Techie IT
सोमबार, वैशाख २२,२०८२

सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै


काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ ।
दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । यसअघि बसेको बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

विहिबारदेखि कार्यदलका सदस्यहरु आ–आफ्ना दलका शीर्ष नेताहरुसँग आन्तरिक छलफलमा थिए । आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी छ ।

मंसिर ४ का लागि सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको मतको विश्वसनीयता प्रश्न उठाएका छन् ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइसकेको छ । भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा पेचिलो बनेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545