Techie IT
बुधबार, पुस २,२०८२

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?


काठमाडौं  नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया तीव्र बनेसँगै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

ओली पक्षबाट उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्ने तय भएको छ। प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षका लागि चर्चामा रहेकामा उनले उम्मेदवारी नदिने संकेत गरेपछि सो पदबारे छलफल जारी छ। हालसम्म आफ्नो उम्मेदवारी टुंगो नलागेको ज्ञवालीले बताएका छन्।

महासचिव पदमा शंकर पोखरेल नै उम्मेदवार बन्ने निश्चित भएको छ। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बनाउने विषयमा छलफल अन्तिम चरणमा पुगेको नेताहरूले जनाएका छन्।

सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने लगभग निश्चित छ। यसैगरी नयाँ अनुहारका रूपमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा. राजन भट्टराई उम्मेदवार बन्ने तयारीमा छन्।

यद्यपि उपमहासचिव र सचिव पदका केही नामहरू अन्तिम क्षणमा हेरफेर हुनसक्ने नेताहरूको भनाइ छ। सचिव पदका लागि ज्वाला कुमारी साह, शेरबहादुर तामाङ र गोरख बोगटीलगायतले पनि दाबी कायम राखेकाले अन्तिम सूचीमा परिवर्तन हुनसक्ने आँकलन गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अन्य पदमा को-को उठ्दै ?, #ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्