Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

हिमाली क्षेत्रमा पदयात्रा नगर्न नागरिक र पर्यटकलाई संखुवासभा प्रशासनको अनुरोध


उच्च हिमाली क्षेत्रमा परेको हिमपात र लगातारको वर्षाका कारण संखुवासभा प्रशासनले नागरिक र पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले ४ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जारी गरेको सूचनामा अत्यधिक हिमपात र चिसो बढेकाले मकालु आधार शिविरलगायत उत्तरी क्षेत्रतर्फको यात्रा नगर्न सबैलाई सचेत गराइएको छ ।

प्रशासनका अनुसार लगातारको हिमपातका कारण खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले पनि शनिबारसम्म वर्षा र हिमपात जारी रहने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच, मकालु प्रहरी चौकी सेदुवाका प्रहरीहरूले विदेशी र स्वदेशी पर्यटकलाई मौसमसम्बन्धी जानकारी दिँदै सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार हाल मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी र ६० जना नेपाली पर्यटक रहेका छन् । प्रहरीले तुम्लिङटार विमानस्थल,नुम र सेदुवामा मौसमी सचेतना अभियान सञ्चालन गरिरहेको छ, डीएसपी मैनालीले भन्नुभयो, “हामीले पर्यटकलाई मौसम, बाटो र सम्भावित जोखिमबारे निरन्तर जानकारी दिइरहेका छौ।’

प्रशासनका अनुसार लगातारको वर्षाले पहिरो जाने, सडक अवरुद्ध हुने र जनजीवन प्रभावित हुने खतरा बढेको छ । त्यसैले अत्यावश्यक काम बाहेक अनावश्यक यात्रा नगर्न सबै नागरिकलाई आग्रह गरिएको छ । त्यसैगरी, पहिरोको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यकता परे सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई आग्रह गरेको छ ।

संखुवासभा प्रशासनले नदी किनार, पहिरो सम्भावित स्थान र हिमाली क्षेत्रनजिकका बाटोमा हिँड्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी जानकारी नियमित सुन्न पनि सबैलाई आग्रह गरेको छ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #breaking, #खादबारी, #नागरिक, #नेपाल प्रहरी, #पदयात्रा नगर्न अनुरोध, #पर्यटक, #मकालु हिमाल, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्