माओवादी र नेकपा एसबीच एकीकरण पक्का, नेतृत्व टुंग्याउन प्रचण्ड–माधवलाई जिम्मा
काठमाडौं । वाम घटकबीच एकता प्रयास तीव्र बन्दै गएको बेला नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण लगभग पक्का भएको छ । उक्त एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेत समेट्ने चर्चा जारी छ।
वार्तामा संलग्न नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणका विषयमा कोई विशेष मतभेद बाँकी छैन। नेतृत्व संरचना टुंगो लगाउने जिम्मेवारी माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको एक वार्ता सदस्यले बताए।
निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमाभन्दा अघि नै एकीकरण घोषणा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। तर चुनाव चिन्हबारे अन्तिम सहमति भने हुन बाँकी छ। नेकपा एसले ‘कलम’ कायम राख्न चाहेको छ भने माओवादी केन्द्रले नयाँ चिन्ह खोज्ने प्रस्ताव राखेको छ।
सिद्धान्त, नीति र नामबारे सहमति
स्रोतका अनुसार एकीकरणपछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति ‘नेपाली विशेषतासहितको समाजवाद’ हुनेछ। यस क्रममा माओवादी केन्द्रले माओवादलाई त्याग्नेछ भने नेकपा एसले पहिले नै जनताको बहुदलीय जनवाद (जबज) परित्याग गरिसकेको छ। तथापि जबजका केही आधारभूत मूल्यहरू भने नयाँ पार्टीको नीतिमा समेटिने नेकपा एसका नेताहरूले बताएका छन्।
पार्टी नामबारे ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ राख्ने प्रस्ताव छ। ‘नेकपा समाजवादी केन्द्र’ नाम पनि प्रस्तावित भए पनि छोटकरी नाम ‘नेकपा सके’ हुने भएकाले सो विकल्पलाई प्राथमिकता नदिने सहमति भएको छ।
नेतृत्व मोडालिटी
नेतृत्वको टुंगो अब प्रचण्ड र माधवकुमार नेपालले मिलाएर गर्नेछन्। प्रारम्भिक मोडालिटीमा प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक रहने प्रस्ताव छ। दुई अध्यक्षको विकल्प पनि चर्चा भएपनि अघिल्लो मोडेल असफल भएकाले दोहोर्याउन नहुने निष्कर्ष दुवै पक्षले निकालेका छन्। यदि विप्लव समूह समेत समावेश हुने हो भने ‘अध्यक्ष मण्डल’ मोडेलबारे पुनः छलफल हुनसक्ने बताइएको छ।
वार्ता टोलीका एक सदस्यका अनुसार, “एकतामा अब जटिलता छैन। पहिले नेकपा एसभित्र एमालेमा ठूलो पङ्क्ति फर्किने हो कि भन्ने अन्योल थियो, तर अहिले त्यो अवस्था हटेको छ। झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापनसमेत हुने भएपछि अब एकता पक्का जस्तै छ।”
मुख्य नेतृत्व सहमतिपछि दुवै पक्षका पदाधिकारी समावेश हुनेगरी सचिवालय तथा अन्य संरचनाको पुनर्संयोजन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रचण्ड–माधवले छिटो निर्णय लिएर एकता घोषणा गरे अन्य वाम घटकसँग पनि एकताका लागि अनुकूल वातावरण बन्ने नेतृत्व तहको विश्वास छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी केन्द्र–नेकपा एस एकता पक्का
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्