Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

अमेरिकाबाट यौनदुराचारलगायत आपराधिक अभियोगमा सात नेपाली डिपोर्ट


काठमाडौं । अमेरिकामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा सात जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात जना नेपालीलाई डिपोर्ट गरिएको हो। उनीहरूको उमेर २८ देखि ३९ वर्षबीच रहेको बताइएको छ।

अमेरिकास्थित खसोखास डटकम का अनुसार ती नेपालीहरू यौन दुराचार, शारीरिक दुर्व्यवहार, डकैती, हतियार प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि अनलाइन च्याटमार्फत प्रलोभन देखाउने, र मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने जस्ता अभियोगमा दोषी ठहर भएका थिए।

तीलाई अमेरिकाका विभिन्न स्थानहरू — न्युयोर्कको जोन एफ केनेडी विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, भर्जिनिया, एरिजोना र टेक्सास राज्यबाट नेपाल डिपोर्ट गरिएको हो।

डिपोर्ट भएका मितिहरू

  • न्युयोर्क: ३९ वर्षीय नेपालीलाई यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोगमा गत जुलाई १५ मा देश निकाला गरिएको थियो। उनलाई अप्रिल २४ मा अध्यागमन अदालतले डिपोर्टको आदेश दिएको थियो।

  • नेवार्क (मेरिल्याण्ड): ३६ वर्षीय नेपालीलाई मार्च ६ मा नेपाल पठाइएको हो। अदालतले उनलाई जनवरी १७ मा दोषी ठहर गर्दै देशनिकालाको आदेश दिएको थियो।

  • एरिजोना: डकैतीमा संलग्न २८ वर्षीय नेपालीलाई जुन १० मा डिपोर्ट गरिएको छ।

  • लोगन विमानस्थल: हतियार प्रयोग गरी आक्रमणमा दोषी ठहर ३४ वर्षीय नेपालीलाई अप्रिल २९ मा देश निकाला गरिएको छ।

  • टेक्सास र भर्जिनिया: नाबालिगसँग अश्लील च्याट गरेको अभियोगमा ३० वर्षीय नेपालीलाई जुन ३ मा डिपोर्ट गरिएको छ। उनी सन् २०२४ डिसेम्बर ९ मा दोषी ठहर भएका थिए।

  • एरिजोना (फेरि): ३५ वर्षीय अर्को नेपालीलाई पनि त्यस्तै अभियोगमा जुन १० मा देश निकाला गरिएको हो।

  • टेक्सास हुँदै कतारमार्ग: मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा ३७ वर्षीय नेपालीलाई सन् २०१७ जुलाई १९ मा अदालतले आदेश दिएपछि हालसालै नेपाल पठाइएको छ।

यी सबै व्यक्तिहरू अमेरिकी अध्यागमन नियमअनुसार अदालतको आदेशपछि नेपाल फर्काइएका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सात नेपाली डिपोर्ट


तपाईको कमेन्ट लेख्नुहोस्