Techie IT
शनिबार, असार ७,२०८२

नेपाली राजनीतिमा जेन्जि पुस्ताको अवस्था , अझै नसुनिएको आवाज


रिअव वाँनिया

२१औं शताब्दी सूचना, प्रविधि र सामाजिक रूपान्तरणको युग हो। आजको युगमा नयाँ पुस्ताको भूमिका केवल भविष्य निर्माणमा सीमित छैन्र उनीहरू वर्तमानका पनि नीति निर्माता बन्न थालेका छन्। नेपालजस्तो युवा प्रधान राष्ट्र जहाँ कुल जनसंख्याको ठूलो हिस्सा युवाहरूले ओगटेका छन्, त्यहाँ नयाँ पुस्ताको सहभागिता अझ महत्वपूर्ण हुन्छ। तर, नेपाली राजनीतिक सन्दर्भमा हेर्दा, जेन्जिको राजनीतिक उपस्थिति कमजोर, पहुँच सीमित र आवाज अझै नसुनिएको देखिन्छ।

को हुन जेन्जि पुस्ता ?

जेनेरेशन जेड भन्नाले ती व्यक्तिलाइ जनाउँछ जो सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका हुन्। यो पुस्ता अहिले किशोर, युवा वा प्रारम्भिक वयस्क अवस्थामा छन्। उनीहरू प्रविधिसँग हुर्किएका, विश्वव्यापी घटनासँग अपडेट हुने र सामाजिक सञ्जालमा अभ्यस्त पुस्ता हुन्। डिजिटल युगको वातावरणमा हुर्किएका भएकाले, उनीहरू सोच्न, निर्णय गर्न र प्रतिक्रिया जनाउन छिटो र स्वतन्त्र छन्। साथै, सामाजिक विविधता, समावेशिता र मानव अधिकारप्रतिको जागरूकता पनि उनीहरूको पहिचान हो। यद्यपि, तीमध्ये धेरैजसो हाल अध्ययन, रोजगारी वा अवसर खोजिमा विदेश पलायनतर्फ उन्मुख छन् ।

जेन्जि पुस्ताको हाउ भाउ

जेन्जि पुस्ताको सामाजिक, मनोवैज्ञानिक र व्यवहारिक स्वभाव विशिष्ट छ। उनीहरू प्राविधिक माध्यमप्रति अत्यधिक आश्रित छन् र प्रविधिलाई दैनिक जीवनको अभिन्न हिस्सा मान्छन्। स्वतन्त्र सोच राख्ने र आलोचनात्मक दृष्टिकोणले हेर्ने क्षमता उनीहरूमा प्रबल पाइन्छ। सामाजिक सञ्जालमा उनीहरूको सक्रियता केवल सन्चारका लागि नभई, विचार आदानप्रदान र अभियानको लागि पनि हुन्छ। तेज गतिमा जानकारी ग्रहण गर्ने, विचार निर्माण गर्ने र प्रतिक्रिया दिने क्षमताले उनीहरूलाई अरू पुस्ताभन्दा अलग बनाएको छ। उनीहरू समावेशिता, लैंगिक समानता, र व्यक्तिगत स्वतन्त्रताको हिमायती छन्। साथै, उद्यमशीलता र स्टार्टअप प्रवृत्तिमा रुचि राख्ने यो पुस्ता देशभित्र अवसर नपाउँदा वैकल्पिक मार्ग खोज्न प्रेरित हुन्छ।

जेन्जि पुस्ताका प्रमुख समस्याहरू

जेन्जि पुस्ता क्षमतावान र उत्साही छन्। यद्यपि उनीहरू केही महत्वपूर्ण समस्याहरूबाट प्रभावित छन्। ती मध्ये प्रमुख समस्या भनेको बेरोजगारी हो । उच्च शिक्षित भए पनि रोजगारको अवसर सीमित भएका कारण आर्थिक अस्थिरता सिर्जना हुन्छ। दोस्रो, मानसिक स्वास्थ्यको दबाब तीव्र रुपमा बढिरहेको छ। सामाजिक सञ्जालको दवाव, प्रतिस्पर्धा, अनिश्चित भविष्य र समर्थनको अभावले उनीहरूलाई एक्लोपन र तनावमा पुर्‍याउँछ। त्यस्तै, नेपालको शिक्षा प्रणाली व्यवहारिक छैन। उद्योग र रोजगारीसँग मिल्दो जुल्दो सीपको अभाव रहेको छ। यसका साथै, राजनीतिमा पहुँचको कमीले गर्दा उनीहरू आफ्ना समस्याहरूको समाधान राज्य तहबाट खोज्न पाउँदैनन्।

जेन्जि पुस्ताको आवश्यकता

जेन्जि पुस्ता केवल समस्या होइन, समाधानको पनि हिस्सा हुन्। उनीहरू नवीन सोच, प्रविधिमा दक्षता र सामाजिक रूपान्तरणको प्रेरणा लिएर आएका छन्। मानव अधिकारप्रति उनीहरूको प्रतिबद्धता, सामाजिक न्यायको पक्षधरता, र पारदर्शी शासनको मागले लोकतन्त्रलाई अझ जवाफदेही बनाउन सक्छ। दीगो विकास, नवप्रवर्तन, वातावरण संरक्षणजस्ता विषयमा उनीहरूको संलग्नता नेपालको समृद्धि यात्रामा अनिवार्य बन्न सक्छ। उनीहरूले राजनीतिक सोचलाई पारम्परिक ‘व्यक्तिमा आधारित’ नभई ‘मूल्यमा आधारित’ बनाउने सम्भावना बोकेका छन्।

नेपाली राजनीतिमा जेन्जि पुस्ताको अवस्था

वर्तमान नेपाली राजनीति अझै पुराना अनुहारहरू, स्थापित शक्तिकेन्द्रहरू र जटिल संरचनाहरूमा केन्द्रित छ। जसले गर्दा जेनरेशन जेड जस्तो सोच, ऊर्जा र दृष्टिकोण बोकेको पुस्तालाई नीति निर्माण प्रक्रियामा समावेश गर्ने प्रयास गरिएको देखिदैन। उनीहरू विरोध गर्न सक्छन्, बहस गर्न सक्छन्, सामाजिक सञ्जालमा मुद्दा उठाउन सक्छन्, तर निर्णय प्रक्रियामा उनीहरूको आवाज अझै पनि औपचारिक रूपमा सुन्ने कोशिश भएको छैन। यसैले उनीहरूको अवस्था “अझै नसुनिएको आवाज” को रूपमा चित्रण हुन्छ।

जेन्जि पुस्ताको राजनीतिक चेतना

प्रतिनिधित्व कम भएता पनि यो पुस्ता राजनीतिक रूपमा अनविज्ञ भने छैन। उनीहरू चुनाव, लोकतन्त्र, नागरिक अधिकार, पारदर्शिता र जवाफदेहिताबारे सचेत छन्। परम्परागत दलहरूप्रति असन्तुष्टि जनाउने, विकल्प खोज्ने र स्वतन्त्र नेतृत्वको खोजी गर्ने मनोवृत्ति उनीहरूमा व्यापक छ। उनीहरूले चुनावमा भाग लिन, बहसमा उत्रिन, र सामाजिक अभियान सञ्चालन गर्न थालेका छन्। राजनीतिक दबाब समूह, सामाजिक न्याय आन्दोलन, तथा वातावरणीय अभियानमा उनीहरूको सक्रियता बढ्दो छ।

मुख्य चुनौतीहरू

यस पुस्ताको राजनीति प्रवेशमा मुख्य चुनौती प्रतिनिधित्वको अभाव हो। राजनीतिक दलहरू युवा नेतृत्वको आवश्यकता त बोल्छन् तर व्यवहारमा पुराना अनुहारहरूको पुनरावृत्ति हुन्छ। दलहरूप्रति विश्वासको कमी, राजनीतिक शिक्षा र प्रशिक्षणको अभाव, मतदान प्रक्रियाप्रति निरुत्साह र राजनीतिलाई दीर्घकालीन करियरको रूपमा नहेर्ने सोच पनि चुनौती बनेका छन्।

सम्भावित समाधानहरू

समस्या समाधानका लागि युवामुखी राजनीतिक कार्यक्रम आवश्यक छ। नीति निर्माणमा युवालाई सशक्त सहभागी बनाउने संरचना तयार गर्नुपर्छ। राजनीतिक प्रशिक्षण, कलेजदेखि नै नागरिक शिक्षा, सामाजिक सञ्जालमार्फत सूचनाको प्रवाह, र नेताहरूको जवाफदेहितामा जोड दिन जरुरी छ। चुनावी प्रणालीमा नवप्रवर्तन र डिजिटल पहुँचमार्फत मतदान प्रक्रियामा युवालाई आकर्षित गर्न सकिन्छ। साथै, राजनीतिक दलहरूले युवा उम्मेदवारहरूलाई प्राथमिकतामा राखेर नेतृत्वको पुस्तान्तरण सुरु गर्नु उपयुक्त हुन्छ।

जेन्जि पुस्ता परिवर्तन चाहन्छ र आफ्नो आवाज बुलन्द पार्न जानेर पनि नेपालको राजनीतिक मूलधारमा उनीहरूको आवाज पूर्ण रूपमा सुन्न सकिएको छैन। उनीहरू अब केवल मतदाता होइनन्, नीति शिल्पी बन्न चाहन्छन्। अब समय आएको छ उनीहरूलाई सुन्ने, समेट्ने र नेतृत्वमा स्थान दिने। यो पुस्ता केवल भोलिको आशा होइन, आजकै आवश्यकता हो। यदि हामीले अहिले उनीहरूको आवाज नसुन्ने हो भने, लोकतन्त्र अधुरो बन्नेछ। नेपाली राजनीतिलाई नयाँ दिशा दिन चाहने हो भने जेन्जि पुस्तालाई सल्लाहकार होइन, निर्णायक भागीदार बनाउनु पर्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली राजनीतिमा जेन्जि पुस्ताको अवस्था स् अझै नसुनिएको आवाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545