Techie IT
शुक्रबार, असार ६,२०८२

कैलालीमा कैदी मृत्यु प्रकरण : प्रहरीका सई पक्राउपछि परिवारले बुझ्यो शव


चौमाला (कैलाली), असार ६ गते । कैलाली कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको परिवारले पाँच दिनपछि शव बुझेको छ ।

पालीकी श्रीमती जानकी साउँदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पक्राउ गरेपछि मृतकका परिवारले शव बुझेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले पालीको शव परीक्षणपछि शुक्रबार बिहान पीडित पक्षले शव बुझेको जानकारी दिनुभयो । उहाँकाअनुसार मृतककी श्रीमतीको किटानी जोहरीका आधारमा सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो । अहिले मृतककी श्रीमतीले उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्नुभएको छ ।

मृतककी श्रीमती साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर कैलाली प्रहरीले उहाँलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको थियो ।

२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार पक्राउ परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।

तर असार २ गते राति १०ः३० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो । मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलालीमा कैदी मृत्यु प्रकरण : प्रहरीका सई पक्राउपछि परिवारले बुझ्यो शव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545